April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार

साहित्यको परिचय

प्रिय चन्द्र,

चिनी भैसकेपछि पनि जिज्ञासाको समाधानार्थ गूढतिर फर्केकोमा खुसी लाग्यो, धन्यवाद । यसबाट गूढ र चिनीको बिम्ब ध्रुवसत्य नै हुनुपर्छ भन्नेचैँ होइनरहेछ । हुनपनि न चिनी हुनु नै सम्पूर्णता हो न गूढ हुनु नै अन्तिम !

हो, तिमीले ठीक भन्यौ : ‘साहित्य समाजको ऐना हो, जीवनको कसी हो, सहजीवनको द्योतक हो, सिर्जनाको संसार हो ….. आदि यसका अनेकौँ परिभाषा प्रचलित छन् । तैपनि साहित्य भनेको ठ्याक्क यही हो भनेर ट्वाक्क भन्न सजिलो छैन । न कविता, कथा, निबन्ध र नाटक भन्ने साहित्यिक सिर्जनाका नाम लिँदैमा साहित्य भनेको यही हो भनेर खुटका खुट बुझिन्छ ।’ तिम्रो यो भनाइ अकाट्य यथार्थ हो । साहित्यलाई चिन्न सजिलो छैन कारण सिङ्गै जीवन नै साहित्य हो र जीवन भनेको सिङ्गो संसारै हो ! अनि त यस्तो व्यापक विषयलाई सूत्रका रूपमा प्रस्तुत एउटा–दुइटा पङ्क्तिका भनाइबाट मात्र चिन्न नसकिनु के आश्चर्य !  

साँच्चै समस्त शरीर चिरफार गरिसक्ता पनि नभेटिने मन वा आत्माजस्तै समस्त रचना केलाएर योयो पात्र, योयो घटना, योयो विषय, योयो बिम्ब ….आदि भनेर सबै अङ्गअङ्ग छुट्याइसक्ता पनि यहीचैँ साहित्य हो भनेर अलग्ग भेट्न सकिँदैन । त्यसैले साँच्चै यसलाई दुई टुक शब्दमा तोकेर चिन्न सकिँदैन ।

हुन त माथिका परिभाषा ठिकै छन् । जस्तो– ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई÷व्यर्थै यो मनमा सजाएँ तिमीलाई’बाट ऐनामा जस्तै जीवनको प्रतिबिम्बि देखिएन त जहाँ मरिहत्ते चाहेर पनि नपाईकन सुस्केरामै बाँच्नु पर्ने पनि हुनसक्छ ? छिमेकी(गुरुप्रसाद मैनाली) पढेर हामीले हाम्रो देशको आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक हालत देख्न सक्छौँ भने त्यो हाम्रा विकासको उत्कृष्टता\निकृष्टता जाँच्ने कसी भएन त ? त्यस्तै भावनाले साहित्य देख्ने, कलमले लेख्ने, त्यसको साधन र वातावरण जुटाउने, त्यसलाई सुन्ने, पढ्ने परख गर्ने, प्रकाशन गर्ने आदि अनेक मान्छे यसमा संलग्न हुन्छन्, होइन ? त्यस दृष्टिले  के यो सहजीवनको द्योतक भएन त ? नत्र यो एक्लै कसरी हुन्छ, यसको के मतलब हुन्छ ? तैपनि साहित्य भनेको यहीचैँ हो भनेर ठ्याक्क भन्न भने अझै सकिएको छैन ।

त्यसैले सूत्रमा भन्दा अलिक विस्तारसँग पर्गेलेर हेर्न पाए यसलाई अझ सजिलोसँग चिन्न सकिन्थ्यो कि ? यसको एक प्रयास गर्ने रहर गरेको छु मैले यहाँ आफूले साहित्य भनेर जानेको ठानेअनुसार ।

समस्त वाङ्मयिक सिर्जनालाई साहित्य भन्ने गरिन्छ । कृषि साहित्य, खेलकुद साहित्य, कानून साहित्य, धार्मिक साहित्य, पौराणिक साहित्य आदि । यसरी सरकारी लिखत, पाठ्यपुस्तक, व्यापारिक प्रचारसामग्रीदेखि वास्तविक साहित्य भनेर चिनिने कथा–कविताआदिसम्म समस्त लिखित भाषिक उत्पादन साहित्य literature कहलाउँछन् ।

त्यसकारण यसलाई फेदैदेखि मुख्य दुई समूहमा विभाजन गर्नुपर्ने हुन्छ : कामकाजी(आवश्यकतापरक) साहित्य words used for works र व्यन्जनात्मक(मनोरन्जनपरक) words used for idea, beauty and joy. (साहित्यबोध, पृष्ठ १५३ )

दुवैखाले साहित्य लिखित–मौखिक दुवै माध्यममा सिर्जिइन्छन् ।

अगिल्लो आवश्यकतापरक साहित्य व्यावहारिक र प्राज्ञिक भनेर पुन दुई शाखामा बाँडिन्छ । त्यस्तै पछिल्लो मनोरन्जनपरक साहित्य पनि दुई शाखामै बाँडिन्छ : सिर्जनापरक र सुधार–सम्वर्धनपरक भनेर । सोझै साहित्यकारको मनबाट उत्पन्न हुने मौलिक साहित्यचैँ सिर्जनात्मक साहित्य हो । यसैलाई ललित वा भावुक साहित्य पनि भनिन्छ । त्यसरी उत्पन्न सिर्जनात्मक साहित्यलाई जाँच–परख गर्ने र त्यसका कमी कमजोरी पत्ता लगाउने समालोचनात्मक साहित्यचैँ सुधार–सम्वद्र्धनपरक साहित्य हो ।

सिर्जनात्मक साहित्य स्रष्टा र स्वरूपका दृष्टिले पुन दुई धारमा बहन्छ : जराविनै पलाउने र फैलिने अमरवल्लीजस्तै निर्दिष्ट स्रष्टा नहुने वा समष्टि लोक नै स्रष्टा हुने र मुलत मौखिक रूपमै बाँचिरहने धारलाई लोकसाहित्य भनिन्छ । अर्को, निर्दिष्ट फलानो स्रष्टाद्वारा लेखिने र लिखित सामग्रीकै रूपमा बाँचिरहने साहित्यलाई चैँ अभिलेख साहित्य भनिन्छ ।

यी सिर्जनात्मक साहित्य (लोक–अभिलेख दुवै) को सिर्जनामा मान्छेका दुई यथार्थ र चार स्वभावले काम गरेको देखिन्छ ।

दुई यथार्थमध्ये एउटा हो आत्मपरक यथार्थ । यसका पनि दुई तह हुन्छन् : जब आश्चर्य, करुणा, अफसोस, हर्ष, भय, आक्रोश जस्ता परिवेशीय यथार्थद्वारा उसको संवेदना छेडिन पुग्छ र ऊ ‘भरजन्म घाँसतिर मन दिई …’ भनेर भानुभक्त, ‘मा निषाद प्रतिष्ठा …’ भनेर वाल्मीकि, ‘Behold her single ….’ भनेर वर्डस्वर्थ नकराइनसकेजस्तै एक्लै उद्गारिन पुग्छ तब साहित्यको सिर्जना हुन्छ । यस्तो उतिबेलै पनि हुनसक्छ, वा पछि जहिले पनि । अर्को, जीवनजगत्को कुनै पनि विषयले उसको चेतनालाई झकझक्यादिन्छ र ऊ गहिरो सोचमा परेर त्यसको स्वरूप–विशेषता, पक्ष–विपक्ष, कारण–परिणाम, तुल्यता–अतुल्यता, भूत–भविष्य आदिबारे चिन्तन गर्न थाल्छ शंकर लामिछाने प्याजबारे, देवकोटा नेपाल कसरी सानो छ भन्नेबारे वा भर्जिनिया वुल्फ पुत्लीको मृत्युको सार्थकतबारे एक्लै घोत्लिएर छलफलिन पुगेजस्तै ।

अगिल्लो उद्गारबाट कविताको सिर्जना हुन्छ र पछिल्लो चिन्तनबाट निबन्धको सिर्जना हुन्छ ।

यी उद्गार तथा चिन्तन दुवै सर्जकका आफ्नै सकसक र त्यसका सन्तुष्टिको रहरले सिर्जिइने उसका निजी अनुभूति, धारणा र भावनाका अभिव्यक्ति हुन् । त्यसैले यी सिर्जना आत्मपरक सिर्जनात्मक साहित्य हुन् ।

 उता कथा र नाटक अर्थात् आख्यानमा सर्जक शब्द र अभिनय दुवै माध्यमबाट कसले कहिले, कहाँ, किन, कोसँग, कसरी के गर्यो आदि भनेर अर्काको कथा सुनाउँछ वा देखाउँछ, कतिपल्ट म पात्र भएर पनि । त्यसैले यी सिर्जना अन्यपरक सिर्जनात्मक साहित्य हुन् ।(साहित्यबोध, पृष्ठ १४९–५०)

यी अन्यपरक सिर्जना(कथा, उपन्यास, महकाव्य, खण्डकाव्य, नाटक) समाजकै कुरा भएपनि कुनै निश्चित व्यक्तिका सत्यकथा नभएर काल्पनिक पारेर सुनाइने हुँदा यी आख्यान मिथ्याख्यान\निर्मिताख्यान हुन् । (ऐ १५२)

 यसरी कविताका रूपमा मान्छेको विष्मित हुने र त्यसबारे अनुभूतिपरक उद्गार गर्ने स्वभाव; निबन्धका रूपमा चिन्तन र अभिव्यक्ति गर्ने स्वभाव तथा कथा र नाटकका रूपमा  उसको मान्छेका गतिविधि सुनाउने र अभिनय गरेर देखाउने स्वभाव साहित्यिक सामग्री भएर भाषाको बिस्कुनका रूपमा प्रकट हुन्छन् ।

कविताअन्तर्गत तीनै भाकाका गजल, हाइकु आदिसमेत सबै खाले पूर्ण वा आंशिक गेयात्मक रचना पर्दछन्– गद्य भाकाका गद्य कविता, छन्दोबद्ध पनि भनिने शास्त्रीय छन्दमा रचित पद्य भाकाका पद्य कविता र गीत भनिने लोकभाकाका गीती कविता ।

चिन्तनअन्तर्गत निबन्ध शुद्ध चिन्तन हो भने नियात्रा र जीवनी\संस्मरण सत्याख्यानिक चिन्तन हुन्  जसमा लेखक चिन्तनसँग मिसाएर आफूले देखेभोगेका सत्य घटना पनि सुनाउँछ । ऐ पृ १५३ । 

बढी कथा भनेर चिनिने आख्यानअन्तर्गत महाकाव्य भनिने लामा र खण्डकाव्य भनिने छोटा पद्याख्यान, उपन्यास भनिने लामा, कथा, लघुकथा र चुटकुला\किस्सा आदि भनिने विभिन्न आकारका छोटा गद्याख्यान र नाटकअन्तर्गत पुर्णांकी भनिने लामा र एकांकी भनिने छोटा पद्य÷गद्य दृश्याख्यान पर्दछन् ।

वास्तविक साहित्य भनेर मानिने (सबै खाले कविता, कथा, उपन्यास, काव्य, नाटक, निबन्ध) मनोरन्जनपरक व्यन्जनात्मक साहित्यमा पर्दछन् किनकि ती चिट्ठी, तमसुक, सूचना वा कक्षागत पाठ आदिजस्तो दैनिक कामको आवश्यकताका लागि लेखिएका नभएर मजाका लागि लेखिएका हुन्छन् । अर्को, यी सिर्जना सोभैm नलेखिएर बिम्ब र प्रतीकमार्फत् लेखिन्छन् । त्यसैले ती सुन्दर, आनन्ददायक र विशेष विचार सुझाउने खालका हुन्छन् । त्यसैले त यिनलाई अङ्ग्रेजीमा saying beautifully, saying effectively and saying a lot using few words पनि भनिन्छ । जस्तो– ‘रोजरोज दर्शन पाउँछु ….म हेर्छु बसी’। यहाँ सुख पाएको बिम्बमा दुख पाएको अभिव्यक्ति गरेर सामान्यत याद नगरिएका धेरै कुरा भनिएको छ । कथा÷नाटकमा भने सम्पूर्ण पात्र, घटना आदि नै काल्पनिक खडा गरिन्छ । निबन्धमा पनि यही हुन्छ जस्तो देवकोटाले गधाको बिम्बबाट मान्छे भएकोमा घमण्ड गर्ने समस्त मूर्खको धज्जी उडाएका छन् गधा बुद्धिमान् कि गुरु ?मा (लक्ष्मी निबन्ध सङ्ग्रह)।

धेरैजसो एकमुष्ट समालोचनामात्र पनि भनिने सुधार र सम्वर्द्धनपरक साहित्यअन्तर्गतचैँ भैसकेका सिर्जनाको गुण–दोष–महत्व–स्थिति आदिबारे परख गर्नेदेखि समग्रमा किन, कस्ता साहित्य सिर्जनुपर्छ, तिनीहरूप्रति लेखक–पाठक–समालोचक–समाज–सरकारसम्मको कस्तो नीति र व्यवहार हुनुपर्छ तथा कस्तो भैरहेको छ भन्नेबारे अध्ययन–विश्लेषण–विचार–विमर्श गरिन्छ । अत यस अन्तर्गत साहित्यको सुधारपरक समालोचना, व्याख्यानपरक प्रवचन, अभ्यासपरक पत्रिका र भण्डारणपरक इतिहास पर्दछन् ।

अब भन साहित्य भनेको के रहेछ ? के यो जीवनको हीत(मनोरन्जन र शिक्षा)का निमित्त उपयुक्त शब्दहरूलाई उपयुक्त प्रसङ्गसँग सान्दर्भिक हुने तरिकापूर्वक मिलाएर विशेष मिठो लाग्ने गरी उपयुक्त रूपमा भन्ने (रचना गर्ने)कला र त्यसरी सिर्जना भएका रचना  होइन त ?

त्यसरी सिर्जित रचनाका पछिपछि तिनको परखसमेत सुधार–सम्वद्र्धनपरक साहित्य पनि समानान्तर चलिरहने कुरा त भन्नै परेन, होइन ?

कस्तो लाग्यो ? प्रतिक्रिया लेख है ?

तिम्रो भलो चाहने

प्रकाश

prakashmanidahal@gmail.com