पुँजी बजार किन बन्द भइरहेको छ ?
पुँजी धेरै परिचित शब्द हो। सर्वसाधारणदेखि ठुला ठुला लगानीकर्ताहरू पुँजीको व्यवस्था, लगानी क्षेत्र पहिचान एवं यसबाट आउने प्रतिफलको हिसाब किताब गर्ने गर्छन्। त्यसैगरी विभिन्न विकसित तथा अल्प विकसित मुलुकहरूले विभिन्न विकास निर्माणका कार्यहरू गर्न ठुलो रकमको पुँजी निर्माण वा व्यवस्था गरेको पाइन्छ।
पुँजी के हो?
पुँजी एउटा मानव निर्मित साधन हो। जसलाई पुनः नयाँ-नयाँ वस्तु तथा सेवाहरू एवं थप धन-सम्पत्ति उत्पादनमा प्रयोग हुन्छ। सामान्यतया मानिसहरू आफूसँग भएका मुद्रा तथा अन्य धन-सम्पत्तिलाई पुँजीका रूपमा बुझ्छन्। तर अर्थशास्त्रमा सम्पूर्ण धन-सम्पत्ति पुँजी होइन। पुँजी सम्पत्तिको त्यो भाग हो जसलाई वस्तु तथा सम्पत्ति उत्पादनमा प्रयोग हुन्छ त्यसैले सम्पूर्ण पुँजी सम्पत्ति हुन् तर सबै सम्पत्ति पुँजी होइनन्। तेसैगरी अर्को शब्दमा भन्नुपर्दा, पुँजी भन्नाले उत्पादनका विभिन्न आवश्यक तत्त्वहरूमध्ये एक महत्त्वपूर्ण तत्वका रूपमा चिनिन्छ। विभिन्न किसिमका वस्तुहरूको उत्पादन प्रक्रियामा नभई नहुने अति आवश्यक तत्त्व पुँजी हो। अर्थतन्त्रमा पुँजिको विशेष महत्त्व हुन्छ। किनभने अर्थतन्त्रका प्रमुख मुद्दाहरू जस्तै उत्पादन, वितरण, उपभोग, विनिमय र सार्वजनिक वित्त पुँजीबिना सम्भव हुँदैन। कृषि, उद्योग, व्यापार, पर्यटन, खानी तथा उत्खनन, यातायात सञ्चार जस्ता आर्थिक क्षेत्रहरूको सञ्चालन पुँजीबिना सम्भव देखिँदैन। त्यसैले पुँजी तथा पुँजी निर्माण एउटा अपरिहार्य आवश्यकता हो जसले हरेक मुलुकको अर्थतन्त्रलाई जीवन्तता दिन र क्रियाशील बनाइराख्न मद्दत गर्छ।
पुँजी निर्माण
पुँजी निर्माण विभिन्न पक्षहरूको एकीकृत सहभागिताबाट सम्पन्न हुने प्रक्रिया हो। यस प्रक्रियामा वित्तीय संस्थाहरूबाट बचत सङ्कलन गर्ने, बचत रकमलाई विभिन्न उत्पादनमूलक क्षेत्रहरूमा परिचालन गर्ने र अन्तमा पुनः वस्तु उत्पादन प्रारम्भ भई थप धन-सम्पतिको अथवा आयस्रोत प्राप्त हुने प्रक्रिया नै पुँजी निर्माण हो। सहज पुँजी निर्माण प्रक्रियाले अर्थतन्त्रलाई आवश्यक पुँजी रकमको सहज पूर्ति गर्छ। माथि उल्लेख गरेअनुसार पुँजी निर्माणको एउटा महत्त्वपूर्ण पक्ष बैंकिङ क्षेत्र हो। जसले समग्र पुँजी निर्माण प्रक्रियामा विशेष भूमिका खेल्नुका साथै यो प्रक्रियालाई पूर्णता दिन प्रभावकारी भूमिका खेल्ने गर्छ। त्यसैले वित्तीय बजार पूँजी निर्माणका प्रमुख केन्द्रको रूपमा परिभाषित हुन्छ।
वित्तीय बजार
वित्तीय बजारमा अल्पकालीन तथा दीर्घकालीन वित्तीय साधनहरू जस्तै share, debenture, सरकारी वण्ड , corporate bond, insurance policy, government securities इत्यादिको कारोबार हुन्छ । यस किसिमका वित्तीय साधनहरूको खरिद बिक्रिबाट अर्थतन्त्रले ठुलो धनराशिको पुँजी प्राप्त गर्ने गर्छ। वित्तीय बजारका दुई प्रमुख बजारहरू हुन्छन्- १.मुद्रा बजार २.पुँजी बाजार । यी बजारहरूमा अल्पकालीन एवं दीर्घकालीन वित्तीय साधनहरूको कारोबारमार्फत अर्थतन्त्रका विभिन्न आर्थिक क्षेत्रहरूले आवश्यकताअनुसार अल्पकालीन एवं दीर्घकालीन पुँजी रकम प्राप्त गर्नेगर्छन्। त्यसैगरी मझौला कम्पनी तथा उद्योगहरू एवं ठुल्ठुला उद्योगहरूले आवश्यकतानुसार दीर्घकालीन पुँजी रकमको जोहो पुँजी बजारबाट नै गर्छन्। त्यसैले अर्थतन्त्रका विभिन्न आर्थिक क्षेत्रका क्रियाकलापहरू नियमित भइरहनुमा मुद्रा बजार एवं पुँजीबजारको अहम् भूमिका रहेको बिर्सनु हुँदैन। कुनै कारणबश यी बजारहरूमध्ये कुनै एक बजारमा अवरोध भयो वा गर्न खोज्यौं भने निश्चय नै यस कार्यले अर्थतन्त्रलाई अल्पकालीन एवं दीर्घकालीन असर देखाउँछ। किनभने यी बजारहरूमा अवरोध आउनु भनेको समग्र पूँजी निर्माण प्रक्रियामा अवरोध आउनु हो। जसले गर्दा सार्वसाधारणको विभिन्न क्रियाकलापमा एवं समग्र आर्थिक क्रियाकलापहरूमा संकट पैदा हुन जान्छ। त्यसैले हरेक विकसित अथवा अल्प विकसित मुलुकहरूले देशमा उच्च आर्थिक वृद्धि एवं आर्थिक विकासका लागि वित्तीय बजारको स्थापना एवं विकास गरेको देखिन्छ।
वित्तीय बजारको वर्तमान अवस्था
मुद्रा बजार र पुँजी बजार दुई महत्त्वपूर्ण वित्तीय बजारहरू हुन्। जसको विकास एबं विस्तारले अर्थतन्त्रलाई मजबुत एवं सुदृढ बनाउन मद्दत गर्छ। वर्तमान अवस्थामा नेपालको मुद्रा बजारमा खासै सङ्कट भएको देखिँदैन किनभने केन्द्रीय बैंक अर्थात् नेपाल राष्ट्र बैंकको प्रतक्ष्य निगरानी एवं नियन्त्रणमा विभिन्न वित्तीय संघसंस्थाहरूले आर्थिक क्रियाकलापहरू राष्ट्र बैंकको नियमन,सुपेरिभिजन, नियन्त्रण तथा नीति-नियम परिधिभित्र रहेर सञ्चालन गरेको देखिन्छ। नेपालको पुँजी बजार हालको अवस्थामा असामान्य अथवा रोगी, संकटग्रस्त देखिन्छ।
नेपालमा पुँजी बजारको अवस्था
पुँजी बजारमा धेरै सङ्ख्यामा सर्वसाधारण एवं संस्थागत लगानीकर्ताहरू सजिलै प्रवेश एवं सहभागी हुन सक्छन् । प्राथमिक बजार र दोस्रो (secondary market) बजार गरी पुँजी बजारका दुई छन्। प्राथमिक बजारमा अधिकांश सर्वसाधारणहरू सजिलै प्रवेश गरिरहेका छन् भने दोस्रो बजारमा सीमित सर्वसाधारण तथा संस्थागत एवं ठूला व्यक्तिगत लगानीकर्ताहरूको सहभागिता भएको देखिन्छ। यस बजारमा केन्द्रीय बैंक अथवा नेपाल राष्ट्र बैंकको प्रत्यक्ष भूमिका हुँदैन तर यसले लागु गर्ने मौद्रिक नीतिले अप्रत्यक्ष रूपमा बजारलाई प्रभावित पर्ने कुरालाई नकार्न मिल्दैन । यस बजारमा विभिन्न वित्तीय साधनहरू जस्तै share, debenture, mutual funds र अन्य दीर्घकालीन वितीय साधनहरूको कारोबारमार्फत अर्थतन्त्रले ठुलो धनराशिको पुँजी रकम प्राप्त गर्ने गर्छ।
हाल नेपालको पुँजी बजार लामो समयदेखि बन्दको अवस्थामा छ। नेपालमा पुँजी बजारलाई स्वतन्त्र बजारको रूपमा मान्नलाई धेरै लगानीकर्ताहरूलाई सारै गारो पर्छ। किनभने नेपालको पुँजी बजार समय समयमा बन्द भइरहेको देखिन्छ तर लामो अवधिसम्म बजार बन्द भएको यो दोस्रोपटक हो। पहिलो पटक नेपालमा महाभूकम्पपछि करिब १८ दिन पुँजी बजार बन्द भएको थियो। जुन बाध्यकारी थियो। तर वर्तमान अवस्थामा पुँजी बजार करिब ९० दिनभन्दा बढी बन्द भइसकेको छ जसलाई बाध्यकारी बन्दको अवस्था कुनै पनि दृष्टिकोणले मान्न सकिँदैन। यो त केवल निश्चित व्यक्तिहरूको स्वार्थबाट प्रेरित भएको भन्न सकिन्छ ।
पुँजी बजारजस्तो अत्यन्त संवेदनशील, पुँजी निर्माण एवं तरलता प्रवाह केन्द्र भन्ने आधार हुँदाहुँदै यतिको लामो समय बन्द हुनुमा पक्कै पनि यसका प्रमुख निकाय धितोपत्र बोर्ड जिम्मेवार देखिन्छ। पुँजी बजारको विकासमा नेपालको धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय हो। जसअन्तर्गत असीमित अधिकार एवं दाइत्व रहेको छ तर धितोपत्र बोर्डले आफूसँग भएको अधिकार चिन्न नसकेको देखिन्छ र आफ्नो स्वायत्तता आफै गुमाइरहेको आभास आम लगानीकर्ताले गरिरहेका छन्। यद्यपि धितोपत्र बोर्डले थुप्रै पुँजी बजार विकास सम्बन्धी कार्यहरू नगरेको भने पक्कै होइन। तर वर्तमान अवस्थामा पुँजी बजारलाई नियमित सञ्चालन गर्न नसक्नुमा पक्कै धितोपत्र बोर्डको कमजोरी मान्नैपर्छ। यसको अलावा पुँजी बजार नियमित रूपमा सुचारु हुन नसक्नुमा अन्य निकायहरू जस्तै नेप्से(NEPSE ), CDS, ब्रोकर कम्पनी एवं प्रतक्ष्य अथवा अप्रत्यक्ष रूपमा नेपाल राष्ट्र बैंक पनि हालको बन्द अवस्थामा जिम्मेवार नै छन् भन्दा फरक नपर्ला। धितोपत्र बोर्डले आफ्नो कार्यदक्षता एवं क्षमता देखाएर यस बजारको विगतका कमजोरी पहिचान गर्ने, वर्तमान अवस्थाका लागि नियम कानुन तर्जुमा गर्ने, आवश्यक विभिन्न पूर्वाधारको विकास गर्ने र पुँजी बजारका अन्य निकायसँग प्रभावकारी सहकार्य एवं आवश्यक सुपरीवेक्षण र नियन्त्रण गरी विविध कार्यहरू गर्न सकेको भए हालको पुँजी बजारको असहज अवस्था सायद आउने थिएन । वर्तमान पुँजी बजारलाई बन्धक बनाएको कारणले लाखौँ लगानीकर्ताहरूको करोडौँ -अरबौं रुपैयाँ आफूलाई गम्भीर आर्थिक सङ्कट पर्दा पनि सदुपयोग गर्न बञ्चित रहे। जसको कारणले धेरै लगानीकर्ताहरू पुँजि बजारबाट वितृष्णा पैदा भएर बजारबाट कसरी उम्किन सकिन्छ भन्ने सोच्न थालिथालिसकेका छन् । यसबाट भविष्यमा पुँजीबजारमा गम्भीर सङ्कट आउने कुरामा द्विविधा नहोला। त्यस्तैगरी विभिन्न अवरोध तथा अनिश्चितताका कारणले पुँजीबजारको विकासमा भविष्यमा ठुलो झट्का लाग्न सक्ने प्रबल सम्भावना देखिन्छ।
पुँजीबजार लामो समयसम्म किन बन्द भयो?
गत चैत्र ११ गतेबाट देशभर लागु गरिएको lockdown पछि अर्थतन्त्रका विभिन्न आर्थिक क्षेत्रहरू पूर्ण तथा आम्सिक रूपमा ठप्प भए । तर जसरी बैंकिङ क्षेत्रलाई अति आवश्यक क्षेत्रका रूपमा पहिचान गरी प्राथमिकतामा परे । त्यसैगरी पुँजी बजारलाई पनि सोही प्राथमिकतामा राखेर आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डभित्र रहेर पुँजी बजार नियमित खोल्न निर्देशन एवं व्यवस्था गरेको भए पुँजीबजारको हालको दुर्दशा सायद हुने थिएन । त्यसैगरी धितोपत्र बोर्ड, नेप्से र केही सीमित व्यक्तिहरूको स्वार्थबाट माथि उठेर बजार विकासको एवं यसको नियमित सञ्चालनका लागि योजना एवं तत्परता देखाएको भए अहिले पुँजीबजार बिस्तारै आफ्नो लयमा हुँदै गरेको हुन्थ्यो होला। त्यसैले पुँजी बजार यति लामो समयसम्म बन्द हुनुमा धितोपत्र बोर्ड, nepse ,ब्रोकर कम्पनीका कमजोरीहरू, नेपाल राष्ट्र बैंक र अन्य यससँग सम्बन्धित संस्थाहरूका विविध कारणहरू देखिन्छन्। समग्रमा मुख्य जिम्मेवार निकाय धितोपत्र बोर्ड, NEPSE,CDS आदिका निम्न कमजोरीहरू का कारणले नेपालको शेयर बजार यति लामो समयसम्म बन्द भएको देखिन्छ।
कमजोरीहरू :-
१ धितोपत्र बोर्डले आफ्नो स्वायत्तता जोगाइराख्न नसक्नु।
२.पुँजी बजारलाई अत्यावश्यक बजारका रूपमा परिभाषित गरी त्यसअनुरूप नीति नियम तर्जुमा गर्न नसक्नु
३. lockdown को सुरुवातकै चरणमा स्वास्थ्य सुरक्षा अपनाएर सम्बन्धित निकायहरूबिच गम्भीर छलफल एवं बहस सम्पन्न गर्न नसक्नु।
४. पुँजी बजारका विगतका समस्याहरूलाई यथाशीघ्र समाधान नगर्नु र भविष्यमा आइपर्ने समस्याहरूप्रति सचेतना र अग्रिम तयारी नगर्नु।
५. बजारलाई समयसापेक्ष प्रविधि मैत्री बनाउन स्तरीय software, कारोबार प्रणाली र अन्य पूर्वाधार विकासमा तत्परता नदेखाउनु ।
६. पुँजी बजारमा अनलाइन कारोबार सुरु भएको १ वर्ष ६ महिना भन्दा बढी भइसक्दा पनि अधिकांश लगानीकर्ताहरू परम्परागत कारोबार प्रणालीमै सीमित हुन बाध्य हुनु।
७. धितोपत्र बोर्ड, nepse र CDS यी निकायहरू अनलाइन कारोबारलाई स्तरीय र कमजोरी रहित बनाउन क्रियाशील नहुनु ।
८. पुँजी बजार सम्बन्धी नियमित कार्यशाला, छलफल बहस तथा नियमित लगानीकर्ता अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्न नसक्नु ।
९. शेयर कारोबार सम्बन्धी विभिन्न समस्याहरू जस्तै online trading, राफसाफ, software upgrate , bank integration, broker backup र TMS आदि सम्बन्धी समस्याहरू समयमै समाधान नखोज्नु ।
१०. धितोपत्र बोर्ड र NEPSE ले बेला बखतमा केही लगानीकर्ता सङ्घहरूको सतही मागहरू बाट प्रभावित भएर बजारलाई बन्द गरिरहनु।
अन्तमा पुँजीबजार जस्तो महत्वपूर्ण एवम् तरलता प्रवाह गर्ने धेरै संवेदनशील बजारलाई स्वतन्त्र एवं नियमित तथा चलाएमान बनाउनुपर्छ भन्ने कुरामा सबै आम लगानीकर्ता एवं बजारका शुभेच्छुक हरूको आशा एवं चाहना देखिन्छ । तसर्थ पुँजीबजारको मुख्य अभिभावक निकाय धितोपत्र बोडले यथाशीघ्र बजारलाई सञ्चालन गर्न पहलकदमी लिनुपर्ने देखिन्छ। आगामी दिनमा नेपालको पूँजी बजारलाई हालको जस्तै संकट तथा अबरोध हरूबाट सुरक्षित बनाउन केही महत्त्वपूर्ण अग्रगामी परिवर्तन एवं विकासको खाँचो देखिन्छ। जसलाई बुदागत रूपमा तल प्रस्तुत गरिएको छ।
सुझाबहरू
१. यथाशीघ्र पुँजी बजारसँग सम्बन्धी विभिन्न निकायहरूका प्रतिनिधिहरूबिच छलफल गरेर तत्काल बजार खोल्नुपर्छ र यसलाई माग र पूर्ति का आधारमा मूल्य निर्धारण गर्न दिई स्वतन्त्र बनाइनुपर्छ।
२. आगामी दिनहरूमा गर्नुपर्ने विभिन्न बजार सुधार सम्बन्धी नीति नियम एवं वर्तमान समस्याहरूलाई क्रमबद्ध रूपमा समाधान गर्दैजाने गरी समयसीमासहित कार्यक्रमको तालिका बनाउनुपर्छ।
३. यथाशीघ्र नोट्स,TMS, broker back office अरूको संयन्त्रमा सुधार गरी bank integration सम्पन्न गर्ने।
४. धितोपत्र बोर्डले सम्पूर्ण पुँजीबजारसँग सम्बन्धित निकायहरू, लगानीकर्ताहरू बिच प्रत्येक महिनाको मसान्तमा नियमित छलफल कार्यक्रम राख्ने र त्यस छलफलबाट आएका सुझाव तथा निष्कर्षलाई आगामी दिनमा लागुगर्ने।
५. सर्वसाधारण एवं लगानीकर्ताहरूका गुनासाहरूलाई बुझ्न एवं सम्बोधन गर्न लाई hot लाइनको व्यवस्था गर्ने।
६. धितोपत्र बोर्डको सुपरीवेक्षणमा विभिन्न broker office हरूमार्फत आफ्ना लगानीकर्ता सदस्यहरूलाई पुँजीबजारको ID Card को व्यवस्था गर्ने र उनीहरूलाई आवश्यकता पर्दा धितोपत्र बोर्डमा सजिलै भेटघाटको व्यवस्था गर्ने।
७. स्तरीय पुँजी बजारलाई स्तरीय प्रविधि मैत्री बनाउन आवश्यक नीतिनियमको तयारी अथवा परिमार्जन तुरन्तै गर्ने।
८ विद्युतीय माध्यमबाट खरिदबिक्री आदेश र भुक्तानीको सुविधा onlinebanking अथवा connect IPS मार्फत गर्न प्रोत्सान गर्ने र यसमा आइपर्न सक्ने समस्या समाधान गर्ने।
९. नेप्सेले प्रयोगमा ल्याएको विद्यमान प्रणाली पूर्ण स्तरीय छैन एवं सहज कारोबार तथा राफसाफमा समस्या रहेको छ जसमा मुख्य समस्या broker backoffice, सीडीएस र नेप्सेबिच सहज सहकार्यमा समस्या देखिएको हुँदा यसलाई समाधान गर्ने। नेप्से अनलाइन प्रणाली (नोट्स) र कारोबार व्यवस्थापन प्रणाली (TMS) लाई समयसापेक्ष सुधार एवं थप स्तरीय बनाउने।
१०. विद्यमान online कारोबारका लागि सर्वसाधारण लगानीकर्ताहरूले राख्नुपर्ने धरौटी प्रावधानलाई सुलभ हुनेगरी नीति नियम बनाउने।
११. Online trading कालागि आवश्यक पर्ने username र पासवर्ड विद्युतीय माध्यमबाट प्राप्त गर्न मिल्ने नीति एवं व्यवस्था मिलाउने।
१२. अझैसम्म धेरै सर्वसाधारण लगानीकर्ताहरू online कारोबार बारे अनभिज्ञ नै छन् त्यसैले यससम्बन्धी यथाशीघ्र देशका विभिन्न ठाउँमा अभिमुखीकरण कार्यक्रम गर्ने।
१३. वर्तमान अवस्थामा नेपालको पुँजी बाजार सबल भइनसकेको अवस्थामा हाल चर्चामा ल्याइएको नयाँ IPO सम्बन्धी book building प्रक्रिया लागु नगर्ने।
अन्तमा पुँजीबजारको विकासमा सम्पूर्ण निकायहरू एवं आम लगानीकर्ताहरू संवेदनशील भई आगामी दिनमा पुँजी बजारलाई सबल एवं सुदृढ बनाउन हामी सबै एकजुट हुनैपर्छ र पुँजी बजार शीघ्र सञ्चालन होस् एवं यसभित्र रहेका समस्याहरू सम्बद्ध निकायबाट यथाशीघ्र समाधान गरियोस् भन्ने अपेक्षा राख्छु।
लेखकको सम्वन्धमा