December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

म विद्यालय

बिहानका घामका किरणहरूले मलाई विछ्यौनामा घचघच्याए र भने, “ए बिहान भइसक्यो कति सुत्छौ तिमी ? अनि तिम्रो जिम्मेवारी र दायित्व कति धेरै छ । एकपटक सोच त ।” रविको यस्तो घतलाग्दो आवाजले मलाई नउठी धरै दिएन मैले विछ्यौनामै आँखा खोलेँ अनि मनमनै सोचेँ ओहो फेरि आज रमाइलो दिनको सुरुआत भयो । टाउको यसो छामेँ चिसो भएछ । ओहो ! हिजो राति मैले सिरक नओढी सुतेँछु । सारा शीत मेरै टाउकाभरि परेछ अनि पो महसुस गरेँ । म विद्यालय हुँ । मलाई पाठशाला, स्कुल र शिक्षालयजस्ता नामले पनि बोलाउँछन् मानिसहरू । मेरो कर्म अनि पहिचान कति पवित्र ठान्छन् शिक्षाप्रेमीहरू । शिक्षाप्रतिको मोह र महत्त्व नबुझेका केही विद्यार्थीहरूको चाँहि म टाउको दुखाइको विषय पनि बन्छु । मैले लामो इतिहास बोकेर हिँडेको छु र यसकै परिणाम मैले हजारौँ नानी बाबुहरूको भविष्य निर्माणको श्रेय पाइरहेको छु ।
बिहान नौ बजे एक कालो कालो वर्णको युवकले टिङटिङटिङटिङ आवजमा बजाएको घण्टीसँगै उस्तै पोसाकमा सजिएका ती अबोध र सुन्दर बालबालिकाहरू मेरो प्राङ्गण सजाउन तम्तयार भइहाल्छन् । मेरा काखभरि आएर यिनीहरू रमाउँदा र खेल्दा संसारकै उत्कृष्ट आमा भएको अनुभूति मलाई हुन्छ । यिनै लाला र बाला छन् र पो मेरो अस्तित्व छ । नत्र म र मेरो परिचय किन यहाँसम्म हुनु नि ! यिनीहरू पङ्तिबद्ध हुन्छन्, कसरत गर्छन्, गीत गाउँछन् राष्ट्रियताका, अनुशासनका । यिनका गीत र नाचमा मलाई पनि साथ दिन मन लाग्छ तापनि म अभिभावक भएर होला यिनको चौतर्फी निगरानी गरिरहनु र कुनै प्रकारको अनिष्ट हुनबाट जोगाउनुमै मेरो खुसी समेटिएको छ ।

मेरा धेरै कक्षाकोठाहरू छन् । जसमा ससाना कक्षाका छुकछुके बालबालिका तिनका गतिविधि र हाउभाउ बेग्लै आनन्दका छन् । तिनीहरू पढ्छन्, खेल्छन्, रुन्छन्, खान्छन् तिनका यस्तै गतिविधिहरूमा साथ दिँदै मेरा यति धेरै वर्षहरू बितिरहेछन् । मसँग धेरै ज्ञान र अनुभव भएका शिक्षक शिक्षिकाहरू छन् जो हरेक क्षण मेरै इज्जत बढाउने कार्य र आजका कोपिला जसलाई सुन्दर फूल फुलाउने कार्यमा अनवरत सक्रिय रहेका छन् । यति मात्र कहाँ हो र ! मसँग कर्मचारी, सहयोगी, ड्राइभर, निरीक्षकलगायत विभिन्न तहमा बसेर काम गर्ने जनशक्ति छ जसको एकताबाट मेरा दैनिक क्रियाकलापहरू सहज रूपमा सम्पन्न पनि हुन्छन् ।

पुस्तकालय पनि मसँग छ । जसलाई नियमितजसो विद्यार्थीहरू र कहिलेकाँही शिक्षकहरू पनि प्रयोग गर्छन् । कम्प्युटरको प्रयोगशाला पनि मसँग छ । जहाँ विद्यार्थीहरू सबैभन्दा धेरै रमाउन चाहान्छन् । उनीहरू पालैपालो पुस्तकालय तथा प्रयोगशालामा जान्छन् र रमाउँछन् । पछाडिपटिको चमेनागृहमा करिब दिनको एकबजेतिर उनीहरूको भोजनको कार्य पनि चलेकै हुन्छ । खाएर उनीहरू पेट भर्छन् तर मन भर्दैनन् त्यसैगरी ज्ञान भर्न उनीहरू कक्षाकोठातिर पनि जान्छन् कति रहरले त कति करले । कहिलेकाहीँ सभाकक्षमा विद्यार्थीहरू आउँछन् कोही गाँउछन्, कोही नाच्छन्, कोही ताली बजाउँछन् । यसरी मेरै छातीमा लडिबडी गर्दा मलाई मातृत्व बोध हुन्छ र म उनीहरूका यस्ता हरेक गतिविधिमा आनन्दित हुन्छु । कहिलेकाँही बेहुलीझैँ सिँगार्छन् पनि मलाई अनि उनीहरू पनि सिँगारिन्छन् र रमाउँछन् । दशैँ तिहार र स्वागत बिदाइजस्ता अवसर हुन् उनीहरू र म सिँगारिने । मलाई सिँगार्न र सफा राख्न हरेकले तत्परता देखाउनुले पनि मेरा सारा पीडाहरू भुलाइरहेको हुन्छ ।

यसरी ज्ञान प्राप्त गर्ने मन्दिरका रूपमा मलाई सबैले दिएको सम्मान र स्वागतले मेरो दिनचर्या बितेको छ । मलाई थाहा छ सबैले मलाई किन माया गर्छन् ? मेरो काम के हो ? मेरो अस्तित्व के हो ? तर यो सबै न मबाट मात्र सम्भव छ न अरू कुनै एक पक्षबाट । यसर्थ सबैको साथ सहयोग, हेरचाह र संरक्षण ममाथि छ अनि मेरो जिम्मेवारी पनि भविष्यका डाक्टर, इन्जिनियर, पाइलट, नर्सदेखि सबै किसिमका दक्ष जनशक्ति उत्पादन गरी गन्तव्यतिर पठाउनु रहेकै छ । यो प्रकृतिको चक्रजस्तै चलिरहेको छ र सधैँ चलिरहने छ अनवरत । त्यसैले मेरो परिचय छ । म विद्यालय ।।।
धन्यवाद ।