January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

के तपाईं झुक्किनु भयो?

दिलिप प्याथ 
भक्तपुर ।

सरकारले गत  चैत्र ११  गतेबाट सुरु गरेको बन्दाबन्दीको नियम तथा व्यवस्थालाई क्रमशः खुकुलो पार्दै जाने क्रममा यही असार १  गतेबाट सम्पूर्ण सरकारी कार्यालयहरू, वित्तीय सङ्घसंस्था, अन्य उत्पादन एवं सेवामुखी क्षेत्रहरूलाई कोरोनाको सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने सावधानी पूर्ण रूपमा अपनाई सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अहिले विशेषगरी सरकारको ध्यान  राजश्व  उठाउनमै केन्द्रित छ । तर सधैंजसो भिडभाड भइरहने  कार्यालयहरू पनि हालसम्म सुनसान देखिन्छन् । विभिन्न तथ्याङ्कका स्रोतहरूबाट नेपालमा करिब ३५  लाख ३९  हजार  ५  सय  १९  वटा विभिन्न किसिमका सवारी साधनहरू यातायात विभागअन्तर्गत दर्ता गरिएका छन्। नेपाल सरकार, सवारी साधन एवं  यातायात विभागको नियमअनुसार प्रत्येक वर्ष सवारी दर्ता कर  तथा ब्लुबुक नवीकरण गर्नुपर्ने हुन्छ। तर करिब ८०  दिनभन्दा बढीदेखिको  बन्दाबन्दीका कारण सवारीधनीहरूले सवारी साधनको राजश्व तिर्न  सक्ने अवस्था छैन ।

नेपाल सरकारले हरेक वर्ष विभिन्न किसिमका सवारीसाधनबाट राजश्व उठाउन एवं ब्लुबुक नवीकरण गर्न उपत्यकाभित्र तथा उपत्यकाबाहिर विभिन्न स्थानमा सवारी साधन कर कार्यालयहरू  स्थापना  गरेको छ। तर सरकारले सम्पूर्ण सेवा सम्बन्धी कार्यालयहरू एवं कर तथा राजस्व कार्यालयहरूसमेत खोल्ने निर्णय गरिरहँदा सरकारले विस्तृत पूर्व तयारी एवं योजनाबिना नै  हतार मानसिकताले ग्रस्त भई कर तथा राजस्व कार्यालयहरू खुल्ला गर्ने निर्णय गरेको देखिन्छ । कार्यालय स्रोतबाट ‘सवारी साधन जरिवाना सम्बन्धी  नियम तथा निर्देशन प्राप्त  भएको छैन।’ भन्ने जानकारी प्राप्त भएको छ ।

असार २  गते भक्तपुर सृजनानगर  स्थित सवारी साधन कर कार्यालय पुग्दा कार्यालय खुलै  रहेको तर दैनिक कर सम्बन्धी कार्यहरू हुन नसकेको जानकारी पाइयो । आफूले तिर्नुपर्ने सवारी कर तिर्न नपाएको गुनासो गर्दै सर्वसाधारण फर्किरहेका  थिए। कार्यालयका एक जना कर्मचारीले ‘सरकारले जरिवाना सम्बन्धी प्रशस्त नियम बनाइनसकेको हुनाले हाललाई सवारी साधन कर   उठाउन रोकिएको’ जानकारी दिए । कार्यालयले ०१६६१९५६४  सम्पर्क गरी  कर तिर्न आउन अनुरोध गरेको छ ।

सम्पूर्ण सवारी धनीहरूले सवारी साधन  कर तिर्न जानुभन्दा अगाडि  आफूलाई पायक पर्ने कार्यालयमा सम्पर्क गरी जानु उपयुक्त होला ।