अर्थतन्त्रमा पुँजी बजारको महत्त्व र यसका चुनौतीहरू
सामान्य भाषामा भन्दा दीर्घकालीन पुँजी रकमको एउटा निश्चित दरमा लेनदेन हुने बजे नै पुँजीबजार हो । अर्को शब्दमा दीर्घकालीन वित्तीय साधनहरू जस्तै Share, deventure equity, इत्यादिको कारोबार गर्ने बजार पनि पुँजीबजार हो । विश्वका विभिन्न किसिमका अर्थतन्त्रहरू भएका मुलुकहरूमा पुँजी निर्माणका स्रोतहरूका रूपमा विकास गरिएको पुँजीबजार साझा रूपमा रहेको हुन्छ। नेपालमा पनि अर्थतन्त्रलाई सुदृढ एवं चलायमान् बनाउनका निम्ति पुँजीबजारको विकास गरिएको देखिन्छ। यसको प्रमुख उद्देश्य भनेको राष्ट्रलाई आवश्यक पर्ने पूर्वाधार एवं अन्य उत्पादनशील क्षेत्रको विकासका निम्ति आवश्यक दीर्घकालीन पुँजीको व्यवस्था गर्नु हो। यसका साथै पुँजीबजारको विकासले अन्य सार्वजनिक एवं private कम्पनीहरूको पुँजी वृद्धि विस्तारका लागि चाहिने आवश्यक पुँजी व्यवस्था गर्नुलाई पनि यस पुँजीबजारको उद्देश्य रूपमा लिइन्छ ।
पुँजीबजारको महत्त्व
अर्थतन्त्रका प्रमुख मुद्दाहरू भनेका उत्पादन, उपभोग, वितरण, विनिमय, सार्वजनिक वित्त इत्यादि हुन् । तीमध्ये उत्पादनलाई विशेष रूपमा लिइन्छ। विभिन्न वस्तु तथा सेवाहरू उत्पादन गर्नु, वितरण गर्नु एवं उपभोक्ताहरू द्वारा उपभोग गर्नु आदि विषयहरू अर्थतन्त्रका आधारभूत मुद्दाहरू हुन्।
पुँजीलाई वस्तु तथा सेवाहरू उत्पादन गर्नका निम्ति अत्यावश्यक तत्त्वको रूपमा लिइन्छ। अर्थतन्त्रमा उपस्थित विभिन्न आर्थिक क्षेत्रहरू (जस्तै उत्पादन, व्यापार, बैंकिंग एवं सेवा सम्बन्धी इत्यादि) मा ठुलो लगानीको माग रहन्छ । यस किसिमको पुँजीको मागलाई यथोचित सम्बोधन गर्न देशमा विकसित पुँजीबजारले क्षमता राख्छ। तसर्थ पुँजीबजारको विकासले समग्र आर्थिक एवं उत्पादन क्षेत्रहरूलाई आवश्यक पर्ने दीर्घकालीन पुँजीको व्यवस्था गर्न सहयोग गर्छ। साथसाथै मुलुकमा उच्च आर्थिक वृद्धि तथा पूर्वाधारको विकास पुँजीबजारको विकासका साथै गर्न सकिन्छ भन्ने विश्वास लिन सकिन्छ।
एक्काइसौं शताब्दीमा अल्पकालीन एवं दीर्घकालीन पुँजी निर्माण एउटा सामान्य चक्रीय प्रक्रियामा आधारित रहेको देखिन्छ । जस्तै प्राथमिक बजारमा विभिन्न सानासाना व्यक्तिगत एवं सामूहिक बचतहरूलाई पुँजीबजारमार्फत एकीकृत गरी विभिन्न उत्पादनशील क्षेत्रमा लगानी वृद्धि भई रोजगारी वृद्धि हुने, आम्दानी वृद्धि हुने एवं बचतमा वृद्धि हुने अन्तमा पुनः लगानीमा वृद्धि हुने प्रक्रिया रहेको देखिन्छ । विशेषगरी नेपालको पुँजीबजारमा सार्वजनिक एवं निजी क्षेत्रबाट सञ्चालित विभिन्न उत्पादन तथा सेवा क्षेत्रहरूमा सञ्चालित कम्पनीहरूलाई आवश्यक पर्ने दीर्घकालीन पुँजी निर्माण एवं व्यवस्थापन गर्न विभिन्न पक्षहरूबिच समन्वय तथा सहकार्यको परिणाम हो । यस सहकार्यमा धितोपत्र बोर्ड, नेप्से, CDS (नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिंग लिमिटेड) विभिन्न संस्थाहरू तथा राष्ट्रबैंकबाट निर्मित नीति नियम रहन्छ।
सार्वजनिक एवं निजी कम्पनीहरूका पुँजी सङ्कलनका विधिहरू
सार्वजनिक एवं निजी कम्पनीहरूले तलका मध्ये कुनै एक प्रक्रियाबाट कम्पनीलाई आवश्यक पर्ने पुँजीको व्यवस्था गर्नसक्छन् । जस्तै प्राथमिक बजारमा सार्वजनिक निष्काशन प्रक्रिया IPO, FPO, Debenture इत्यादि । साथसाथै अन्य मर्चेन्ट बैंकिंग कम्पनीहरूले म्युचुअल fund आदि गर्ने । यी सबै दीर्घकालीन पुँजी सङ्कलन प्रक्रियाहरू हुन् । यसैगरी सरकारी पूर्वाधार विकासका निम्ति नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र एवं राष्ट्रिय बचत पत्र निष्काशन गरी नेपाल सरकारलाई आवश्यक दीर्घकालीन ठुलो धनराशिको पुँजी निर्माण वा व्यवस्था गरिन्छ।
उल्लेखित सबै क्षेत्र तथा सम्बन्धित पक्षहरूबाट प्रभावकारी भूमिका निर्वाह गरे देशको अर्थतन्त्र आन्तरिक एवं बाह्य रूपमा सबल र सक्षम बन्न सक्छ।
नेपालको पुँजीबजार समयसापेक्ष सुधार एवं विकास हुँदै आइरहेको देखिन्छ । कुनै समयमा ढुङ्गे युग समान रहेको पुँजी बजार जुनबेला पूँजीका एकाईहरू खरिद गर्नका लागि सर्वसाधारण व्यक्तिहरूलाई अनुरोध गरिन्थ्यो । त्यसैगरी समय परिस्थितिसँगै सर्वसाधारण मानिसहरू त्यस्तै पुँजीका एकाईहरू खरिद गर्न घण्टौं लाइन बस्थे र खरिद दरखस्त फर्म भर्न तँछाड मछाड गर्थे। अहिले परिस्थिति बदलिसकेको छ । वर्तमान अवस्थामा करिब पन्ध्र लाख (१५ ००००००) जति प्राथमिक बजारमा साना ठुला लगानीकर्ताहरू रहेका छन्। त्यसैगरी करिब ३ लाख लगानीकर्ता दोस्रो बजारमा दर्ता भएका भए तापनि करिब २०००० देखि ३५००० हजारसम्म मात्र बजारमा प्रत्यक्ष सहभागी भएको देखिन्छ । अर्कातर्फ नेपालको पुँजी बजारलाई हरसम्भव सुधार एवं विकास गर्नका निम्ति धितोपत्र बोर्ड, नेप्से एवं करिब ५२ वटा धितोपत्र दलाल कम्पनीहरू स्थापित भई सञ्चालनमा रहेका छन् । यस अर्थमा भन्नुपर्दा नेपालको पुँजी बजारमा धेरै सुधारका कार्यक्रमहरू भइसकेको देखिन्छ । व्यक्ति वा संस्थामा रहेको पुँजीका एकाइहरू भौतिकबाट अभौतिकीकरण गर्ने कार्य भइसकेको छ। जसले गर्दा कुनै व्यक्ति वा संस्थाले आफूले चाहेको समयमा आफूसँग रहेको पुँजीका एकाईलाई बिक्री एवं हस्तान्तरण गर्नसक्ने भएको छ। विभिन्न विद्युतीय प्रणाली एवं वित्तीय संस्थाहरूको सहकारीले छिनभरमै घर वा घरबाहिरबाटै विभिन्न सार्वजनिक निष्कासन सम्बन्धी दरखास्त भर्न मिल्ने भएको छ । त्यसैगरी दोस्रो बजारमा पुँजीका एकाईहरू सहज रूपमा खरिद एवं बिक्री गर्न पाउनु पुँजीबजारको अर्को सुधार हो । दोस्रो बजारमा थप लगानी प्रोत्सान गर्न विभिन्न वित्तीय संस्थाहरूबाट margin lending को व्यवस्था हुनु र यसको दायरा क्रमशः फराकिलो हुँदै जानु पुँजीबजारको सुधारात्मा पक्ष हुन् । यसैगरी सरकारले बजारबाट प्राप्त आन्दानीलाई कररहित आम्दानीका रूपमा घोषित गरेको छ, जसलाई पुँजीबजार सुधरका रूपमा लिन सकिन्छ। पुँजीबजारको सुधार एवं विकास हुन online खरीदबिक्री एवं धितोपत्र दलाल कम्पनीहरूलाई margin lending को व्यवस्थाको अधिकार दिनु पनि पुँजीबजारको सुधारात्मक पक्ष हो।
यद्यपि यी सबै सुविधाहरू समग्र धितोपत्र दलाल कम्पनीहरूका माझ पुग्न सकेका छैनन्। साथसाथै online खरीदबिक्री सबै लगानीकर्तामाझ सहज रूपमा पुग्न सकेको छैन । तर वर्तमान अवस्थामा नेपालको पुँजीबजारमा धेरै सुधारका कार्यहरू भइरहेका छन् भन्ने कुरामा पक्कै सत्यता छ ।
यसरी विभिन्न सुधारका कार्यहरू भए तापनि नेपालको पुँजीबजार अन्तर्राष्ट्रिय मापदण्ड एवं गुणस्तरको प्रविधियुक्त बजारका रूपमा विकसित हुनसकेको छैन । यसका विभिन्न बाधा एवं चुनौतीहरू छन् ।
बाधा एवं चुनौतीहरू
१. नेपालको पुँजी बजारसम्बन्धी स्पष्ट कानुन र नीतिनियमको अभाव हुनु।
२. धितोपत्र बोर्ड, नेप्से, धितोपत्र दलाली सङ्घ र अन्य सम्बन्धित निकायहरूबिच प्रभावकारी समन्वयको अभाव हुनु ।
३. वर्तमान अवस्थामा विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणका कारण विश्व अर्थतन्त्र एवं नेपालको अर्थतन्त्र करिब-करिब ठप्प भएको छ। अर्थतन्त्रलाई चलायमान बनाउन प्रमुख भूमिका खेल्ने नेपालको पुँजी बजार साढे दुई महिनाभन्दा बढी बन्द हुँदा नेपालको पुँजीबजार विकासमा अर्को चुनौती थपिएको छ।
४. धितोपत्र बोर्ड एवं नेप्सेले बजारलाई सबल बनाउन प्रभावकारी भूमिका खेल्न नसक्नु।
५. सेयर खरिद बिक्रीमा लगाइने उच्च कमिसनदर र करको दरलाई पनि पुँजीबजारको बाधाका रूपमा लिन सकिन्छ।
६. पुँजीबजारमा गरिने online trading लाई पूर्ण रूपमा online गर्न नसक्नु साथसाथै समयसमयमा सिस्टममा समस्या देखिनु ।
७. विगतका वर्षहरूमा राष्ट्र बैंक एवं धितोपत्र बोर्डले विभिन्न सूचीकृत कम्पनीहरू एवं नयाँ आगन्तुक कम्पनीहरूलाई right share, fpo र साधारण शेयर निष्कासनमा कडाइ गर्न नसक्नु।
८. सूचीकृत कम्पनीहरूले समयमै वार्षिक प्रतिवेदन पेस गर्न नसक्नु र आन्तरिक खर्चमा नियन्त्रण नगरी लगानीकर्तालाई दिइने बोनसदरमा कमी गर्नु।
९. केही कम्पनीहरूले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दा तत्थ्याङ्क गोलमटोल गरी लगानीकर्तालाई झुक्याउनु ।
१०. धितोपत्र बोर्ड, नेप्से, cds एवं धितोपत्र दलाली सङ्घमा भएको नियमअनुसार कारोबारको ५ दिनभित्र दोस्रो बजारमा सेयर बिक्रीबाट पाउने रकम नपाउनु र हाल आएर तीन दिनभित्र पाउने भने तापनि नपाउनु।
११. दोस्रो बजारमा नयाँ सिस्टमसहित पूर्ण अनलाइन कारोबारमा जान नसक्नु ।
१२ .नेप्सेले पुरानो र नयाँ सिस्टमबिच इन्टिग्रेसन वा लिंक अप नगरीदिँदा कारोबार सेटलमेन्टमा समस्या पैदा हुनु ।
१३. सिडिएसको सिस्टममा समय समयमा समस्या आइरहनु र शीघ्र सुधारको काम नहुनु ।
१४. ऐनमा ५ दिनभन्दा बढी बन्द गर्न नमिल्ने भनिए तापनि विभिन्न समूहको दवाबमा लामो समयसम्म बजार बन्द हुनु ।
१५. प्राथमिक बजारमा सर्वसाधारणको सहज प्रवेश भएजस्तै दोस्रो बजारमा नयाँ लगानीकर्ताहरू प्रवेश गर्न धितोपत्र दलाल कम्पनीमै पुग्नुपर्ने बाध्यता हुनु।
१६. वर्तमान अवस्थामा पनि अधिकांश सहरी एवं ग्रामीण भेगका सर्वसाधारणले सहज रूपमा प्राथमिक बजारमा प्रवेश नपाउनु ।
१७. Share शिक्षाको कमीले धेरै व्यक्तिहरूको दृष्टिकोणमा share कारोबारलाई जुवाका रूपमा हेरिने भ्रम हुनु ।
१८. दोस्रो बजारमा insider trading को आशङ्का भए तापनि वा अप्रत्यक्ष रूपमा देखिए पनि सम्बन्धित निकायहरूबाट प्रभावकारी रूपमा अनुसन्धान र थयोचित कारबाही नहुनु ।
१९. दैनिक कारोबार रकम झन्डै ५ अर्ब पुगेको साथै एकै समयमा झन्डै ४० हजारको सङ्ख्यामा कारोबार भएको, आर्थिक रूपमा महत्त्वपूर्ण सेयर बजारलाई सरकारका नीति तथा कार्यक्रममा प्राथमिकतामा नराखिनु ।
२०. पुँजी बजार विस्तारका सम्बन्धमा लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, नेप्से, सेबोन, राष्ट्र बैंक, बिमा समिती, अर्थमन्त्रालयबिच नियमित प्रभावकारी संवाद, समन्वय र सहकार्य नहुनु ।
माथि प्रस्तुत गरिएका विभिन बाधा तथा चुनौतीहरू साथै अन्य पुँजी बजारसँग सम्बन्धित प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देखिने चुनौतीहरूलाई शीघ्र समाधान गर्नसके वर्तमान नाजुक अवस्थामा रहेको पुँजी बजारलाई सामान्य अवस्था एवं सुधारतर्फ लैजान सक्ने कुरामा विश्वास लिन सकिन्छ । अन्यथा नेपालको पुँजीबजार झन् सङ्कटमा फस्दै जाने कुरामा शङ्का नहोला भन्न सकिँदैन।
kumarpyatha42@hotmail.com
लेखकको सम्वन्धमा