मुक्ति देऊ
कलेज पढ्न जाने ठुलो थियो मेरो रहर
स्कुल, कलेज बन्द सबै गाउँघर, सहर ।
घरैभित्र कैदीजस्तै दिन बित्दै गए
तयारी ती पाठहरू बिरानो पो भए ।
सपनीमा पनि देख्छु परीक्षाहल गा’को
जाँच सकी एस्ईईको नतिजा नि आ’को ।
सपनीमै भए पनि दङ्ग पर्ने भै’छु
उज्यालो भई आँखा खोल्दा बिस्तारामै रै’छु ।
वर्षभरि दुःख गरेँ पाएँ धेरै ज्ञान
खाना पनि बिर्सिएर पढाइमै ध्यान ।
जाँच सक झट्ट अनि मोबाइल किनिदिउँला
बाआमाले भन्या दिन अब कहिले आउला !
एक दिन दुई दिन गन्दागन्दै सत्तरी दिन बित्यो
जोगिन्छौँ कि भन्दाभन्दै कोरोनाले जित्यो ।
कहिलेसम्म होला मनमा रहर साँची बस्ने
नयाँ कक्षा नौलो ज्ञान लिन कम्मर कस्ने ।
अनलाइन कक्षा सुरु भा’छ भन्छन् सहरतिर
घरमा छैन मोबाइल, ल्यापटप भोक टार्नकै पीर।
बिकल्पको बाटो भए छिट्टै निर्णय लेऊ
धेरै तनाव भयो सरकार हामीलाई मुक्ति देऊ ।
लेखकको सम्वन्धमा