काममा कला र कला नै काम
“मान्छेले जे गर्छ नि” आफ्ना श्रोतामाथि जाँचकी नजर लगाएर उनले कुरा अगि बढाइन् “उसले तीन किसिमका काम गर्छ, खासगरी उद्देश्यका दृष्टिले” र बुझ्नुभो ? भनेजस्तै गरी नजर डुलाएर सोधिन्, “भन्नोस् त के के हुन् ?”
“एउटा हो पैसा कमाउन” बोल्यो एउटा अधबैँसे पुरुष । “अर्को समय कटाउन” दोस्रो अलिक पाको मान्छे बोल्यो । त्यसपछि उत्तर आएन । “अनि तेस्रो ?”उनका नजर फेरि सबैमा डुले । दोस्रो फन्का डुलेपछि उनका बगलमा केही पछाडि पर्ने गरी बसेकी महिला अलिकति संकोचसहित सहास्य बोलिन् “र–रमाइलोको लागि होला ।”
पापा पाएर फुरुङ्ग परेको बालकजस्तै चहकिएर कराइन् उनी “मममम, ठ्याक्कै मिल्यो ! सुपर !!” प्रशंसा भावमा डुले उनका नजर तीनैजनामाथि र खुसीमा टाउको नचाउँदै उनले थपिन् “‘पैसा कमाउन, रमाइलोको लागि र समय कटाउन,’ एकदम ठीक । आउनोस्, अब यसलाई औपचारिक सिद्धान्तको रूप दिऊँ ।”
‘कसरी ?’ भनेझै सबैका नजर उनका नजरमा टाँसिए । फेरि एक नजर घुमाएर उनी भन्दैगइन् “मतलब मान्छेले तीन किसिमका काम गर्छ : ‘आवश्यकतासम्बन्धी, मनोरन्जनसम्बन्धी र समय कटनी सम्बन्धी’ ।”
आफ्नो विशेष शैलीमा टाउको अलिकति टेढो राखेर छड्के आँखाले हेर्दै उनले कुरा अगि बढाइन् “पहिलो किसिमका कामलाई काम भनिन्छ अथवा कर्तव्य, काज, कार्य, दायित्व, जिम्मेदारी, अनिवार्यता इत्यादि । दोस्रो किसिमकालाई कला भनिन्छ अथवा मनोरन्जन, मनोविनोद, क्रीडा आदि र तेस्रो किसिमका इन बिटविन हुनसक्छन् काम नै पनि वा कला नै वा अलिकति काम अलिकति कला वा कुनै दृष्टिले काम कुनै दृष्टिले कला । जसो भए पनि मान्छेले गर्ने काम मूलतः दुईटै मात्र हुन् : जीवन निर्वाहका निमित्त आवश्यक वस्तु तथा सेवा प्राप्त गर्न गरिने आर्जनसम्बन्धी काम, मुख्यतः उही पैसा कमाउन गरिने काम । किनभने पैसा भयो भने आवश्यक सबैजसो वस्तु वा सेवा किन्न पाइन्छ । उहिले पैसाको आविष्कार नभएका दिनमा भने वस्तु प्राप्त गर्न वस्तु नै सट्टापट्टा गर्नुपथ्र्यो । सेवाकै सट्टापट्टा पनि भएकै कुरा हो जसलाई अर्मपर्म भनिन्छ जुन स्थितिअनुसार अहिले पनि गरिन्छ प्रायः कृषिमा ।
यसमा के प्रस्ट हुनुपर्ला भने यस्तो आर्जनका काम भन्नाले नियमित जीवनक्रममा उतिबेलै आर्जन हुने, पछि कुनै बेला हुने, सित्तैँमा पनि गरिदिनुपर्ने(गुणका बदलामा, चाकरीका लागि वा उही अर्मपर्मका लागि), कति यिनैलाई विभिन्न कारणले दोहोर्याउनुपर्ने, आदि विभिन्न खाले हुनसक्छन् । जसरी पनि घुमीफिरी त्यस काम वा श्रमको एकमात्र उद्देश्य बाँच्नका लागि चाहिने कुरा प्राप्त गर्नु नै हुन्छ । यसलाई हामी आवश्यतापरक काम भन्नसक्छौँ ।
आर्जनका निमित्त नभएर मनको रमाइलो वा आनन्दको रहरका लागि मात्र गरिने मनोरञ्जनसम्बन्धी काम दोस्रो काम हो । त्यसैले यो काम सामान्यतः अगिल्लो काम भैसकेपछि अर्थात् बाँच्ने बन्दोबस्त भएपछि, एक समयसम्मलाई बाँच्न पुग्ने खानेकुराको बन्दोबस्त भएपछि र ज्यानमाथि सोझै कसैको आक्रमण हुने खतरा नभएपछि नाचगान, हाँसखेलजस्ता शारीरिक वा अभिनयात्मक काम र पुतली, गुडिया, चित्र आदिजस्ता मनोरञ्जनीय वस्तुको सिर्जनासम्बन्धी काम हो जसको आयआर्जनसँग सोझो सम्बन्ध हुँदैन । यसलाई हामी रहरपरक काम भन्न सकौँला । औपचारिक शब्दमा यसलाई कला भनिन्छ ।”
एकसर्को फेरि नजर डुलाएर उनले जारी राखिन् “अथवा यस कुरालाई यसरी पनि बुझ्नसकिन्छ : एउटै मानिसका दुई शरीर हुन्छन्— तन शरीर अर्थात् इन्द्रियज्ञानले थाहा पाइने देख्नछुन सकिने, भोकाउने–अघाउने, दुब्लाउने–मोटाउने, चोटपटक लाग्ने र मर्ने भौतिक शरीर र अर्को इन्द्रियज्ञानले थाहा नपाइने देख्नछुन नसकिने, नभोकाउने–नअघाउने, नदुब्लाउने–नमोटाउने, चोटपटक नलाग्ने र कहिल्यै नमर्ने (ठानिने) मन शरीर ।
तनशरीरलाई आहारा, निद्रा, यौनेच्छा आदि पूरा गर्न, रोगव्याधि तथा चोटपटक लाग्ने तथा शत्रुबाट हुनसक्ने खतराबाट जोगाउन र सकेसम्म मर्न नदिन सधैँ तयार रहनुपर्छ । यो आवश्यकता हो । यसका निमित्त गरिने काम आवश्यकतापरक काम हो । खेतीपाती, बन्दव्यापार, उद्योग–उत्पादन, सेवा आदि यही आवश्यकतापरक काम हुन् ।
तर यहाँ के बिर्सिनु हुँदैन भने खाने काम त तन शरीरले गर्छ तर खानेकुराको मिठो–नमिठो, दिने मान्छेको भावनामा प्रियता–अप्रियता आदि थाहा पाउने र खाएर अघाउने वा सन्तुष्ट हुने–नहुने त मन शरीर नै हो । मन शरीरलाई तन शरीरको जस्तो चोट नलागे पनि दुख्ने त मनलाई नै हो त्यसबाहेकका पीडा (अपमान, धोका इ.) पनि यसैले नै भोग्छ । तब त भनिन्छ तनलाई जति नै सुखसुविधा भए पनि मन सन्तुष्ट नभए मान्छे सुखी, सक्षम र सफल हुँदैन ।
अर्को कुरा, मूलतः आत्मा भनिने यस मनशरीरलाई तन शरीरको जस्तो चोटपटक आदि खतरा र आहाराजस्ता आवश्यकता त हुँदैन तर त्यसलाई पनि जीवनका उक्त आवश्यकतापरक कामका हरेक पक्षमा विचार गर्न सक्ने, सटीक विचार गर्न सक्ने पार्न उद्ध्याइरहनुपर्ने हुन्छ, धेरै वा कठिन वा कामै नभएर दिक्क हुन नदिई मुक्त, ताजा र हृष्ट राखिरहन पनि केही भिन्न खाले काम आवश्यक पर्छन् । सामान्यतः यस खालेलाई मनोरञ्जन भन्ने गरिन्छ ।
यस कुरालाई यसरी पनि हेर्न सकिएला : मान्छे उच्च चेतनशील प्राणी भएकाले ऊ सधैँ दुई चेतनाद्वारा निर्देशित हुन्छ क्रमश सुरक्षाचेत र सुखचेत । सुखचेतका फेरि दुई उपचेत हुने लाग्छ क्रमशः सम्पादनचेत performance sense र सौन्दर्यचेत aesthetic sense । अगिल्लोसँग sense of accuracy, perfection, precision पनि सँगै हुन्छन् भने पछिल्लोसँग उक्त तीन उपचेतसँगै sense of beauty, skill, taste आदि पनि हुन्छन् ।
यहाँ ख्याल राख्नुपर्ने अर्को सूक्ष्म सत्य के हो भने यी दुई चेत एकार्काबाट भिन्न वा विमुख वा निरपेक्ष नरहेर एकार्कामा अन्योन्याश्रित, एकार्काका पूरक र एकसाथ रहन्छन् । अर्थात् कुनै काम गर्दा, खाना खाँदा, खेतमा धान गोड्दा वा पसलमा मालसामान बेच्दा वा कारखानामा माल उत्पादन गर्दा सो खाने, गोड्ने, बेच्ने वा उत्पादन गर्ने काम राम्रोसँग सम्पन्न होस् भनेर सीमासम्म सौन्दर्यचेत पनि उपस्थिति रहनुपर्छ जसरी चित्र कोर्दा वा गीत गाउँदा वा नाच्ता पनि काम ठीकसँग गरियोस् भनेर सम्पादनचेत रहनैपर्छ । साथै खाएर (खाएको तागतले काम गरेर), चित्र कोरेर, गीत गाएर तथा नाचेर पनि पैसा कमिने गर्दछ । यी काम चैँ पूरै आवश्यकतापरक होइनन् भन्न मिल्दैन । मात्रै यी दुई चेतमा कहिले कुन प्रधान कुन गौण हुन्छ, त्यत्ति ।
सँगै के पनि देखिन्छ भने कुनै काम सम्पादनप्रधान हुन्छन् भने कुनै सौन्दर्यप्रधान र कुनैमा सम्पादन नै सौन्दर्य हुन्छन् । एउटा भान्सेका निमित्त खानेकुरा ठीक समयमा पोखनढोलन नगरी वा कमभन्दा कम हुने गरी, काँचो, गिलो उपयुक्तसँग मिसाउनुपर्ने मरमसलाको अनुपात मिलाएर मिठो हुनेगरी पकाउनु कति सम्पादन कति सौन्दर्य होला ? एउटा शल्यचिकित्सिकले कुशलतापूर्वक शल्यक्रिया गर्नसक्नु, एउटा शिक्षकले कुशलतापूर्वक पढाउन सक्नु र एउटा नेताले देश वा चालकले वाहन कुशलतापूर्वक चलाउन सक्नु नै सौन्दर्य पनि हुँदैन र ? प्रत्येकका काममा आआफ्नै खाले कठिनाइ र खतरा पनि हुन्छन् भने ती कठिनाइ र खतरालाई कुशलतापूर्वक निप्ट्याएर सफलता हासिल गर्ने सीप र दक्षता पनि हुन्छन् जसको कमीले (नभएर हुने कमी वा भए पनि उचित प्रयोग नगरेर हुने कमी) त कति बिमारी शल्यक्रियाको टेबलबाटै बिदा हुन्छन्, विद्यार्थी अनुत्तीर्ण हुन्छन्, देश अविकासलगायत अनेक समस्या र गृहयुद्धसम्ममा फँस्छन्, गाडी जुध्छन् वा पानी खान खोलातिर झर्छन् यद्यपि तिनका अरू पनि कारण हुँदाहुन्, बढी चैँ देखाइँदाहुन्, अर्को कुरा ।
निष्कर्षमा पुग्दै उनले आफ्ना सबै श्रोतालाई नजरमा लिएर भनिन् “के हामीले कामसम्बन्धी कुनै सिद्धान्त बनाउन सक्यौँ त ?”
“सक्यौँ नि” अगिको अधबैँसेले हात उठायो र भन्दैगयो “काम मूलतः दुई किसिमका हुन्छन् ‘आवश्यकतापरक र रहरपरक वा तनपरक र मनपरक वा सम्पादनपरक र सौन्दर्यपरक’ । अगिल्लोलाई सामान्यतः काम र पछिल्लोलाई कला भनिन्छ ।”
“बस ?” उनको प्रश्नवाची बसको जवाफ दिइन् एउटी वृद्धाले “तर यी दुई खाले काम सँगसँगै हुन्छन् कुनैमा यो प्रधान ऊ गौण कुनैमा ऊ प्रधान यो गौण ।”
“जस्तो ?” एउटा युवा बोल्यो “जस्तो कुनै घर बनाउँदा खम्बामा, भित्तामा, ढोकामा किन अनेक डिजाइन र बुट्टा बनाइन्छ ? किन घरका भित्तामा चित्रहरू टाँगिन्छ ? किन घरवरिपरि फूलबारी लगाइन्छ ? के यी आवश्यकता हुन् ? होइनन्, मात्र सौन्दर्यको रहर मात्र हुन् । त्यसैले कला हुन् जो यहाँ कला गौण, काम प्रधान छन् । त्यस्तै अध्यापन पनि काम हो तर विद्यार्थीलाई आनन्दित पारेर सजिलै जान्ने गरी पढाउनु कला हो तर गौण । चित्र बनाउनु पनि काम हो श्रम, साधन र समय लाग्ने तर गौण, सौन्दर्यको रहर अर्थात् कला प्रधान हो । नृत्य पनि काम हो तर गौण, सौन्दर्य अर्थात् कला प्रधान । उता गाडी चलाउनु वा देश चलाउनुचैँ बराबर काम र कला प्रधान हुन्, बढी कला सायद, जुन सफाइ, सीप र दक्षतासँग नचलाए बरबाद छ !”
“लाग्छ आजको हाम्रो छलफल टुङ्गिनेमा पुग्यो” उठ्तै उनी बोलिन् भने एउटी युवतीले भनिन् “तपाईंले ‘काममा कला र कला नै काम’ बताउने काम पनि रमाइलो सौन्दर्यपूर्ण कलासाथ सम्पन्न गर्नुभयो । भन्नुहोस् : यो काममा कला भयो कि कला नै काम भयो ?”
चिया बाँड्दै गरेकी दिदीले भनिन् “दुवै भयो : अलिकति यो प्रधान त्यो गौण अलिकति त्यो प्रधान यो गौण !” हललल्ल फुटेको हाँसोसँगै चियाको चुस्की सुरु भैसकेको थियो ।
prakashmanidahal@gmail.com
लेखकको सम्वन्धमा