नवराज वि.क. हत्या काण्ड

ज्येष्ठ १० गते शनिवार साँझ ६ : २० बजे जाजरकोट भेरी नगरपालिका–४ का बुबा टीकाराम सुनार र आमा उर्मिला वि.क.का छोरा नवराज वि.क. पश्चिम रुकुम चौरजहारी–८, सोतीकी १७ वर्षकी मल्ल थरकी (तीन वर्षअघिदेखिकी) आफ्नी प्रेमिकासँग अन्तरजातीय विवाहका लागि १९ जना जन्ती सरहका आफ्ना युवा साथीहरू लिएर आउँदै थिए । यता प्रेमिकाका मल्ल परिवारले सो कुरा थाहा पाएर गाउँलेहरू र स्थानी जनप्रतिनिधिहरूको सहयोगमा नवराज वि.क. र उनका साथीहरूको समूहलाई लखेट्दै कुटपिट गरी हत्या गरेको वा भाग्दै गएर एघार जना युवाहरू भेरी नदीमा हाम फालेको र केही पौडिएर बाहिर गएको, केही बगेर हराएको, केहीको लास फेला परेको कुरा पत्रपत्रिकामा व्यापक समाचार छापिएका छन् ।

दलितसँग प्रेम गरेको भनी उच्च जातिले आफ्नो अहमता जोगाउन हत्या गरेको हुनसक्ने शङ्का उब्जिएका बेला जातीय भेदभावले अझै  समाजमा जरा गाडेको प्रमाणित गर्दछ ।

जे होस् यस घटनाले नेपालको संविधानले जातीय समानता र अन्तरजातीय विवाह प्रेमलाई मान्यता दिए तापनि केटा र केटीको चाहनाले मात्र प्रेम विवाह सम्भव नहुने र पारिवारिक समझदारी पनि चाहिने कुरा पुष्टि भएको छ ।

सामाजिक कुरीति र कुप्रथाले दलितको मृत्यु कहिलेसम्म ? हाम्रो समाज कहिले फेरिन्छ ? दलितले उच्च भनाउँदा जातिसँग प्रेम गर्दा मर्नै पर्ने हो ? समाजमा जातीय भेदभाव कहिले अन्त्य होला ? आदि प्रश्नले समाजलाई नै अन्योल बनाएको छ ।

गणतन्त्रात्मक सरकार आइसक्दा पनि पुरानै जातिवाद हावी भइरहने हो त ? भन्ने चिन्ता बढ्न थालेको छ । पत्रपत्रिकाले घटनालाई उजागर गरिरहँदा सरकारले कतिसम्म अनुसन्धान गरिरहेको छ, सम्पूर्ण जनताहरू जान्न हतारिएका छन् ।

प्रेमिका मल्लको निमन्त्रणामा नवराज वि.क. र निजका साथीहरूको हत्या भएको खबरले देशै रोइरहेको छ । अब प्रेमका नाममा कतिको हत्या हुने र कतिले आत्महत्या गर्ने हुन्, त्यसको लेखाजोखा गर्न कठिन हुने छ । यस्ता हत्याको अब पनि वास्ता नगरिए अन्तरजातीय प्रेमका कारण र रहस्यमय सामूहिक बलात्कारपछि भएका हत्याहरूको विगतका श्रृङ्खलाहरू दोहोरिने सम्भवना छ ।

विगतका यस्ता हत्या र आत्महत्याहरूमध्ये अजित मिजारको हत्या, सप्तरीका शिवशङ्कर दास, दैलेखका सेते दमाई, झापाकी अस्मिता तोलामी सार्की, तनहुँकी सङ्गीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविताका आत्माले कति अपराधीहरूलाई सरापिरहेका होलान् । यी भए जातीय अहङ्कारका प्रतिनिधिमूलक घटनाहरू ।

आगामी दिनमा यस्ता घटनाहरूबाट पाठ सिक्दै नेपाली समाजमा आमूल परिवर्तनको खाँचो छ । संविधानले स्विकारेको जातीय समानता मर्न दिनुहुँदैन । युवायुवतीमा प्रेमका नकारात्मक असर पार्नु हुँदैन । अन्तरजातीय प्रेमलाई अभिभावकद्वारा स्वीकार गरी विवाहमा परिणत गराउनुपर्छ । यसमा आन्तरिक र व्यवहारिक समझदारीलाई पनि बिर्सनुहुँदैन ।

सरकारद्वारा कानुनी मान्यताअनुसार समाजलाई डोर्‍याउन जरुरी छ । जातीय, लैङ्गिक, धार्मिक, सांस्कृतिक परम्परालाई आत्मसात गरी समाजवादउन्मुख सामाजिक परिवर्तन गराउँदै अघि बढ्न ढिला भइसकेको छ ।

प्रेम र विवाहका कारणले जो कोहीले पनि हत्या र आत्महत्या बेहोर्नु नपरोस् भन्नका लागि सबै युवा कानुन, नियम, परम्परा र समय परिस्थितिसँग समायोजन हुँदै आफू स्थापित हुन प्रयास गर्नुपर्दछ । अभिभावकले पनि आफ्ना सन्तानको इच्छा, चाहना र आवश्यकता बुझी आपसी सहजीकरण गर्नुपर्छ ।

अन्त्यमा सरकारले यस्ता हत्या, बलात्कार र अपराधहरूलाई यो वा त्यो वहानामा नपन्छाई जिम्मेवार ढङ्गले स्वतन्त्र छानविन आयोग गठन गरी दोषीमाथि कठोरभन्दा कठोर सजाय गर्न र पीडितहरूलाई उचित न्याय र सम्मान प्रदान गर्न कटिबद्ध बन्नुपर्दछ ।