September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

विद्यार्थी जीवनमा वास्तुको महत्व

वास्तुविद : उप प्राध्यापक प्रेमराज घिमिरे
केन्द्रीय सदस्य : नेपाल ज्योतिष परिषद
अध्यक्ष : दक्षिण एसियाली ज्योतिष महासघं,
प्रदेश न. १

विद्यार्थीलाई वास्तुको असर वा फाइदा के हुन्छ ? कहाँ बस्ने ? कसरी पढ्ने ? कहाँ र कसरी सुत्ने ? कुन कोठामा बस्ने, पढ्ने र सुत्ने ? कुन दिशातर्फ फर्कने ? आदि थुप्रै प्रश्नका उत्तर खोजी गरियो भने विद्यार्थी जीवनले पूर्णता पाउँछ र सफल बन्नेछन् । आम विद्यार्थी र अभिभावकहरुमा यो लेख केन्द्रित रहनेछ ।

“ जीवन एक चक्का हो, ठीक ठाउँमा अन्दाज नपाए बेठीक ठाउँमा चल्दछ ।” लक्ष्मीप्रसाद देवकोटा

देवकोटाको यो भनाइले पनि के स्पस्ट पार्छ भने हाम्रो जीवनको चक्का ठीक ठाउँमा चल्नु अनिवार्य छ । यसका लागि वास्तुसम्मत तरिकाले चल्नुपर्छ । त्यसमा पनि विद्यार्थी जीवन नै त्यस्तो जीवन हो, जुन समयले हरेक व्यक्तिको जीवनको सार्थकता प्रस्तुत गर्ने गर्छ । यसका लागि वास्तु विज्ञानको जानकारी र यसको सही प्रयोग थाहा पाउनुपर्ने हुन्छ । मानिसको जीवन तीन कुराले मात्र पूर्ण भएको हुन्छ । १) भाग्य, २) कर्म र ३) वास्तु वा जीवनशैली । यी तीनै कुराको बराबर महत्व रहेको हुन्छ ।

माथिको चार्टका आधारमा हेर्दा भाग्यले मात्र हुदैन, कर्म र जीवनशैलीको पनि उतिकै महत्व रहेको हुन्छ । यहाँ प्रस्तुत भएको चार्टको जीवनशैली भन्नु नै वास्तुसम्मत तवरबाट जिउनु भन्ने हो । अब प्रश्न उठ्छ, वास्तु भनेको के हो ? सरल भाषमा भन्नु पर्दा प्राकृतिक तवरबाट चल्नु वा प्रकृतिको नियम र सिद्धान्त अनुसार चल्नु अथवा पानी, आगो, वायु, आकाश, पृथ्वी को सन्तुलन नै वास्तु हो । वास्तुको अध्ययनका लागि यस पृथ्वीका दिशा  (Direction) को जानकारी हुनुपर्दछ । तलको चित्रबाट दिशाको ज्ञान अवश्य हुनेछ ।

आफू रहेको स्थानलाई आधार मान्दा पृथ्वीको आकारका आधारमा डिग्रीबाट पनि दिशा पहिचान गर्न सकिन्छ । पृथ्वी जम्मा ३६०० को हुन्छ ।  ३३७.५ देखि  (३६०) ० हुदै क्रमश २२.५ सम्म उत्तर, २२.५ देखि ४५ हुदै ६७.५ सम्म इशान, ६७.५ देखि ९० हुदै ११२.५ सम्म पूर्व, ११२.५ देखि १५७.५ सम्म आग्नेय, १५७.५ देखि १८० हुदै २०२.५ सम्म दक्षिण, २०२.५ देखि २४७.५ सम्म नैऋत्य, २४७.५ देखि २९२.५ सम्म पश्चिम र २९२.५देखि ३३७.५ सम्म वायव्य कोण वा दिशा हुन्छ । एउटा दिशामा जम्मा ४५ डिग्री हुन्छ ।

विद्यार्थीका लागि चाहिने ऊर्जा वा शक्ति र कोठा :

 विद्यार्थी जीवन खोज र जिज्ञासु उमेर हो । यो बेला धेरै कुराको ज्ञान लिन पाए खुसी हुने अवस्था पनि हो । प्राकृतिक रुपमा पाइने ऊर्जामा विशेष गरी पूर्वबाट शारीरिक र  उत्तरबाट मनस्थिति वा मानसिक स्वस्थ पार्ने ऊर्जा वा शक्ति प्राप्त हुन्छ । यस आधारमा पनि पूर्व र उत्तर दुबै दिशाबाट प्राप्त हुने ऊर्जा विद्यार्थीका लागि आवश्यक पर्छ । पूर्वबाट आएको र उत्तरबाट आएको ऊर्जा दुबै उत्तरपूर्वमा पाइन्छ । यसकारण पनि उत्तरपूर्व अर्थात इशान कोणको विशेष महत्व रहेको छ । विद्यार्थीका लागि चाहिने आवश्यक ऊर्जा पनि त्यही हो । शारीरिक र मानसिक दुबै रुपमा सक्षम हुनुपर्दछ । विद्यार्थीका लागि वा अध्याताका लागि पनि यो दिशा महत्वपूर्ण मानिन्छ । विद्यार्थीका लागि पढ्ने कोठा पूर्व र उत्तरपूर्व सबैभन्दा राम्रो मानिन्छ ।  पढ्दा पनि पूर्व वा उत्तरपूर्व वा उत्तरतिर फर्केर पढ्नुपर्छ । सुत्दा सिरानी पनि पूर्व फर्काउनु राम्रो हुन्छ । तर उत्तरतिर भने सिरानी कहिल्यै फर्काउनु हुदैन । पूर्व वा उत्तरपूर्वको बसाइ र सुताइमा प्राकृतिक ऊर्जा प्रसस्त पाइने हुनाले कोही कोही बढी महत्वकांक्षी पनि हुन सक्छन् । यदि यस्तो लक्षण देखियो भने त्यस्ता बच्चालाई उत्तरपश्चिम अर्थात वायव्य दिशामा सार्नु पर्ने पनि हुन सक्छ । सिकाइको स्तर उच्च र मनस्थिति पनि स्वच्छ हुने हुनाले पनि यो दिशा सबैको लागि राम्रो मानिन्छ । पढाइ समाप्त हुदै जाने क्रममा उमेर पनि वृद्धि हुदै जान्छ र वैवाहिक जीवनमा बाँधिनु पर्ने अवस्थामा पुग्दा भने यो दिशा उत्तम मानिन्दैन । बढी महत्वाकांक्षी बन्ने हुनाले आफूलाई जान्ने वा सक्षम र अरुलाई कमजोर र असक्षम देख्ने सोच हुन्छ । यस्तो अवस्थामा विवाह गर्न खोज्दा केटा छ भने केटी मनपराउदैन र केटी हो भने केटा मन नपराउँदा विवाह ढिला हुने वा नहुने सम्भावना पनि रहन सक्छ । यो बेलामा उत्तरपश्चिमको कोठा उपयुक्त हुन्छ । नव दुलाह दुलहीका लागि पनि उत्तरपूर्वतिरको कोठा उपयुक्त हुदैन ।

शास्त्रका आधारमा उत्तरपूर्व दिशा

माथिको वास्तु चित्रका आधारमा हेर्दा उत्तरपूर्व दिशा गुरु अर्थात बृहस्पतिको दिशा वा स्थान हो । बृहस्पति ज्ञान, वुद्धि, विद्या आदिको कारक ग्रह पनि हो । यस आधारमा पनि उत्तरपूर्व दिशामा पढ्ने, ध्यान गर्ने, पूजा गर्ने, प्राथना गर्ने, अर्थात पवित्र हुने खालका काम गर्ने गरिन्छ । यसले पनि उत्तरपूर्व दिशा अध्ययन अध्यापनका लागि सबैभन्दा उत्तम दिशा हो ।

वातावरणको प्रभावका आधारमा उत्तरपूर्व दिशा

विद्यार्थीका लागि वातावरणले ठूलो प्रभाव पारेको हुन्छ । राम्रो वातावरणको प्रभाव राम्रै र नराम्रो वातावरणको प्रभाव पनि नराम्रो नै हुने गर्छ । यस कुरामा अभिभावक ज्यादै चनाखो हुनुपर्छ । हामीले सबै कुराले उपयुक्त भनेर उत्तरपूर्व दिशा बच्चाको लागि निर्माण त गरिदियौँ तर वास्ता गरेनौँ भने बच्चा कुख्यात पनि हुन सक्छ । बाहिरी वातावरण खराब छ वा संगत नराम्रो छ भने हरेक बखत त्यो बच्चाले उतैको वातावरणलाई पछ्याइ रहेको हुन्छ । यस्तो बेला उसका मनमा खराब कुरा मात्र आइरहन्छ र कसरी छलकपट गर्न, चोर्न आदि कुकार्य गर्न सिपालु भइन्छ भन्ने सोच्न पुग्छ र ऊ नराम्ररी बिग्रन पनि सक्छ । जिद्दी स्वभाव बढ्न गई नटेर्ने अवस्थाको हुन सक्छ । यस्तो अवस्था देखा पर्‍यो भने कोठा परिवर्तन गर्नुका साथै परामर्शको आवश्यक्ता पनि पर्न सक्छ ।

विद्याथीको कोठा सम्बन्धमा केही टिप्सहरुः

  •              कोठा उत्तरपूर्व वा पूर्व हनुपर्छ र झ्याल पनि पूर्व र उत्तर दुबैतिर हुनु राम्रो हो ।
  •             ढोका दक्षिण पश्चिम नभएको राम्रो ।
  •             पढ्ने टेबल पनि उत्तर वा पूर्व नै हुनुपर्छ ।
  •            कोठाको रङ निलो वा सेतो अति राम्रो हुन्छ वा रातो र कालो बाहेक अन्य पनि हुन सक्छ
  •              कोठामा फोहोर मैला हुनु हुदैन । डर लाग्दा र असान्दर्भिक तस्बिर राख्नु हुदैन ।
  •              पढ्ने र सुत्ने ठाउँमा माथि बिम हुनुहुदैन ।
  •              कुनै पनि इलोक्ट्रोनिक सामान टेलिभिजन आदि राख्नु हुदैन ।
  •             बिहान उठ्दा आफु सुतेको बिछ्योना मिलाएर मात्र बाहिर निस्कनुपर्छ ।
  •              कोठामा उज्यालो बत्ती लगाउनु पर्छ ।
  •              पढ्ने बेलामा झ्यालबाट बाहिर नराम्रो कुरा देखिने हुनु हुदैन ।
  •              किताबहरु उत्तर वा पूर्वतिर राख्नुपर्छ ।
  •              टेबल बत्तीको प्रयोग गरिन्छ भने दक्षिण पूर्वी भागमा राख्नुपर्छ ।
  •              भित्ते घडीको प्रयोग पूर्व वा उत्तर पर्खालमा मात्र गर्नुपर्छ ।
  •              पढ्ने वा सुत्ने कोठामा सिसा भएको दराज प्रयोग गर्नुहुदैन । दराज दक्षिण वा पश्चिम राख्नुपर्छ ।
  •              अनावश्यक वस्तु राख्नु हुदैन ।
  •              दुख, पीडाको याद गराउने कुनै वस्तु वा चिज राख्नुहुदैन । ऊर्जा थप्ने सकारात्मक विचार , वाणी वा चित्र राख्न सकिन्छ । आदि

यसरी विद्यार्थी जीवनमा सफलता पाउनका लागि वास्तु सम्मवत तवरबाट पढ्ने, सुत्ने कोठाको सही ब्यबस्थापनले सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै शारीरिक तथा मानसिक क्षमता सबल भई इच्छाएका कुरा पूरा मात्र नभई उच्च चाहना राख्नाले उपलब्धी पनि हाँसिल हुन गई प्रगति उन्नति राम्रो हुन्छ ।