April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

गरिबको झुपडी

लुना न्यौपाने
कक्षा –१०
श्री हिमालय मा.वि
दमक, झापा

दियालो र टुकीमा
काला अक्षरहरू पढेर
अश्वेतका पक्षमा वकालत गर्ने
झुपडीका अब्राहम
कुनैदिन राष्ट्रपति हुन सक्छन्,
संसार हाँक्न सक्छन् ।

गरिबको झुपडीमा
लाल्टिन र मैनबत्ती बालेर
निर्धन आर्तनादहरूको उपचार गर्नेहरू
कुनैदिन नाइटिङ्गेल बन्न सक्छन्
मदरटेरेसा बन्न सक्छन् ।

चर्चिलको झुपडी
चर्चामा आओस् नआओस्
मोदीको झुपडीले
चिया बेचोस् नबेचोस्
माटोसँग मुटु गाँस्ने
गाउँ, बेंसी र पखेराहरूसँग
सधैँ माया, पिरती लगाउने त
गरिबको झुपडी नै हुन्छ ।

महल त
सिसा, पत्थर र सिमेन्टभित्र
स्वार्थ र वासनाभित्र
निर्जीव भएर ठडिएको हुन्छ ,
माया, प्रेम र सद्भावले जीवन्त झुपडीमा
देश हुन्छ
भावना हुन्छ
मूल्य र अस्मिता हुन्छ ।

जहाँ देश हुन्छ
त्यहाँ सिमाना हुन्छन्
सिमानामा रगतको इतिहास हुन्छ
सहिद हुन्छन्
रगतको मूल्य हुन्छ
सहिदका सपनाहरूको सम्मान हुन्छ
त्याग र बलिदानले न्याय पाउँछन् ।

जहाँ यी सबै कुराहरू हुन्छन्
त्यहाँ समृद्धि हुन्छ
वास्तविक सुख हुन्छ
हार्दिकता हुन्छ
सबैको अस्तित्व हुन्छ
र अस्तित्वको सम्मान हुन्छ ।
जहाँ गरिबको झुपडी हुन्छ
त्यहाँ सिङ्गो देश हुन्छ ।

भानुभक्त, लेखनाथ
देवकोटा र भूपि जन्माउने
समृद्ध नेपाल र सुखी नेपालीको
पहिचान दर्साउने
गरिबको झुपडीमा
सिङ्गो नेपाल
हाँसिरहेको हुन्छ ,
माया, प्रेम र सद्भाव
नाचिरहेको हुन्छ ।