September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

सहकारी क्षेत्र र लकडाउन:

परासर भट्टराई

नेपालमा अहिले कोरोना भाइरसको महामारी नेपाली जनतामा फैलन नपाओस् भन्ने सकारात्मक उद्देश्यका साथ नेपाल सरकारले लकडाउन जारी राखेको परिस्थिति छ । देशका सम्पूर्ण कलकारखाना तथा उद्योग व्यवसाय ठप्प रहेका छन् । यस विषम परिस्थितिमा सहकारी क्षेत्रचाहिँ अछुतो रहने प्रश्न नै रहँदैन ।

सहकारी क्षेत्र आफैँमा विशिष्ठ प्रकृतिको व्यवसाय हो । सहकारी राज्यको नियम कानुनको अधीनमा रही विशुद्ध सेयर सदस्यको हितका लागि उत्तरदायी रहने गर्दछ । राज्यले सहकारी क्षेत्रलाई आधार बनाएर तिन खम्बे अर्थनीति तय गरेको तपाईं हामी सबैलाई विदितै छ । राज्यसामु आएको यो विषम परिस्थितिमा सहकारी क्षेत्रको भूमिका के रहने त ? यसप्रति तपाईं हाम्रो चासो बढ्नु स्वभाविक रहन्छ । जसरी विभिन्न तरिकाले राज्यलाई यसले सहयोग गरिरहेको छ त्यतिले मात्र विल्कुल पूरा हुँदैन । जसका लागि केही बुँदाहरूलाई चर्चा गर्न मनासिब मैले देखेको छु ।

कः राज्यको नीतिबमोजिम सकभर यस अवधिको सम्पूर्ण व्याज, त्यो नसके पनि पूरै हर्जना मिनाहा गर्नुपर्दछ ।

खः सदस्यको ऋण प्रवाहमा व्याज छुट दिँदा सहकारी नडुबोस् भन्नका लागि निक्षेपको व्याजदर घटाउनु पर्दछ ।

 गः सहकारीको लगानी आगामी दिनमा आउन सक्ने भोकमरीलाई हेरेर उत्पादनमूलक तथा कृषि क्षेत्रमा अधिक बढाउनु पर्दछ ।

घः सरकारसँग वार्ता गरी कर छुटको व्यवस्था लागु गर्नुपर्दछ ।

ङः पसल तथा विभिन्न व्यवसायमा लगानी गरी जनतामा सहुलियतमा सामान उपलब्ध गराई जनताप्रतिको सामाजिक दायित्व पूरा गर्न तयार बन्नुपर्दछ ।

 चः एक घर एक सहकारी नीतिलाई प्रभावकारी अवलम्वन गर्न तयार हुनुपर्दछ ।

छः सहकारीलाई नाफामुखी नभएर सामाजिक दायित्वप्रति बफादार बनाउन पहल गरिनुपर्दछ ।

सहकारीमा राज्यको चाहिँ के उत्तरदायित्व रहने त ?  भन्ने सवाल उठ्नसक्छ । सहकारीप्रति राज्यको दायित्व निम्नानुसार हुनु उपयुक्त देखिन्छः

कः सहकारीको नाफामा करको दायरा घटाएर कृषिक्षेत्रमा लगानी गर्ने, सहकारीलाई शून्य करको प्रावधान ल्याउने ।

खः उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सहकारीलाई प्रोत्साहन दिन अनुदानको प्रावधान राख्ने ।

गः हरेक नागरिकलाई सहकारीमा आवद्द गराउन पहल कदमी चलाउने ।

घः सहकारीलाई बैंकिङ कारोबामा प्रोत्साहन गराई वैकल्पिक शक्ति बनाउन सहयोग गर्ने।

ङः सहकारी घाटामा गए निश्चित मापदण्ड बनाई घाटापूर्ति गरिदिने ।

राज्यको अभिन्न अङगका रूपमा तिन खम्वे अर्थतन्त्रको संवाहक सहकारी क्षेत्र जति नाफामुखी कृयाकलापमा कृयाशील छ त्योभन्दा बढी समाज र राज्यप्रति अहिलेको अवस्थामा उत्तरदायी बन्न सके नेपाल र नेपाली जनताको हितदायक बनेर जनताको मन र मुटुमा आत्मीय बनिरहन सफल बन्नेछ

तथापि राज्य र नेपाली जनतासँगै विश्वमा आएको सङ्कटका बेला जनताको समस्यामा जिम्मेवार नबन्ने हो भने सहकारी र निजी नाफामूलक उधोगमा केही पनि भिन्नता पाइने छैन ।