January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

असल सङगतको परिणाम

अविरल डि.सी

हामीले महाभारतको बारेमा त सुनेका छौँ । महाभारत धेरै वर्ष पहिले पाण्डव र कौरवपक्षका बीच भारत देशमा लडिएको एक महान् युद्ध थियो । युद्ध कहिल्यै पनि सुन्दर हुँदैन किनकी युद्धमा धेरै बालकहरू टुहुरा हुन्छन् , कति स्त्री विधवा हुन्छन् एवं कति वृद्ध बाबुआमा असहाय हुन जान्छन् । तर युद्ध यौटा परिस्थितिको उपज हो । महाभारतको युद्ध हेर्दा दुई भाइ पक्षका बीच भएको युद्धझैँ प्रतीत हुन्छ तर यो केवल भाइभाइको युद्ध थिएन । भाइभाइ त आज पनि अड्डा अदालतमा सम्पत्तिका लागि , व्यक्तिगत मनमुटावका लागि एवं ईष्र्याद्वेषको वशीभूत भएर लडिरहेको देख्छौँ , तब यी सबै युद्ध महाभारत किन भएनन् ? किनकी जुन महाभारत पाण्डव र कौरव पक्षका बीच लडिएको थियो त्यो युद्ध साधारण युद्ध थिएन किन्तु धर्म–अधर्मको युद्ध थियो , स्त्री स्वाभिमानको युद्ध थियो तथा अन्याय एवं अत्याचार विरुद्धको युद्ध थियो । युद्ध रोक्नका निम्ति कैयौँ प्रयत्न गरिएका थिए तर अधर्मी पक्षले युद्ध नै चयन गरेपछि यो युद्ध लड्नुपरेको थियो । महाभारतले हामीलाई धेरै प्रेरणा दिन्छ । वस्तुतः कुनै पनि घटनाबाट प्रेरणा लिन आवश्यक पनि हुन्छ । यस्तै प्रेरणा महाभारतको उद्योगपर्वको यौटा घटनाबाट पाउँन सकिन्छ जसले हामीलाई असल कुराको चयन कतिसम्म उपयोगी हुन्छ भन्नेबारे सिकाउँछ –

“जब महाभारतको युद्ध निश्चय भइसकेको थियो तब दुवै पाण्डव एवं कौरव पक्षले आ–आफ्ना दूतहरू तत्कालीन सबै राजाहरूको दरबारमा पठाएर सहायताका लागि याचना गर्दै थिए ।त्यही बेला कृष्ण विराटनगरबाट द्वारका फर्किसक्नुभएको थियो । कौरवपक्षबाट दुर्योधनले यो कुराको चाल पाएपछि कृष्णको दरबारमा पुगिहाले । कृष्ण त्यसबेला सुतिरहनुभएको थियो । दुर्योधन कृष्णको सिरानतिर बसे । केहीबेरपछि पाण्डवपक्षका अर्जुन पनि दरबार पुगेपछि कृष्णको खुट्टातिर उभिए । कृष्णको निद्रा खुल्यो र सर्वप्रथम अर्जुनलाई देखेर उनी आउँनुको कारण सोधे । दुर्योधनले आफू पहिले आएको अवगत गराए पछि कृष्णले उनी आउँनुको कारण पनि सोधे । दुवैले कृष्णलाई आफ्नो पक्षबाट युद्ध गर्ने अनुरोध लिएर आएको थाहा पछि कृष्णले ती दुवैलाई सहयोग गर्ने वाचा गरे । यसका लागि कृष्णले दुवैलाई विकल्प दिए । कृष्णसँग दश करोड गोठालाहरूको सेना थियो जो अत्यन्त संग्रामी एवं युद्धमा पारंगत थिए । कृष्णले विकल्प दिए कि तिमीहरूले कि त त्यो सेना लिनसक्छौ अथवा मलाई लिन सक्छौँ । सेनाहरू हातहतियारसहित विशाल हुन्छन् र म एक्लो , निःशस्त्र हुनेछु । अर्जुन साना भएकाले चयनको अवसर उनीलाई दिइयो । अर्जुनले निःशस्त्र कृष्णको चयन गरे । दुर्योधनको हर्षको सीमा रहेन । ऊ खुसीले नाच्न थाल्यो । कृष्ण दुवै पक्षलाई देखेर मुसुमुसु हाँसिरहे । ” यसपछि के भयो , विजय कसको भयो – यो त हामीलाई थाहा नै छ । तर यहाँ जान्न योग्य कुरा के छ भने विजय कसरी भयो ? युद्धमा हतियार चलाउँन जो पारंगत छ विजय उसको नै हुन्छ । तर अर्जुनले कृष्णलाई रोज्नुले यहाँ केही गहिरो आशय बोकेको छ । कृष्ण वस्तुतः ज्ञान एवं सत्यका प्रतीक थिए । कृष्णलाई रोजेको कारणले नै अर्जुनले गीताको ज्ञान प्राप्त गरे त्यो पनि युद्धस्थलमा । अर्जुन स्वयं पराक्रमी त थिए नै तर पराक्रमको उपयोगिता हुँदैन जब पराक्रमीले पराक्रमको उपयोग गर्दैन । युद्धस्थलमा युद्ध थालनी गर्नुपूर्व नै आफ्ना साथीभाइलाई युद्धस्थलमा देखेर अर्जुन विक्षिप्त बनेका थिए । यसबेला उनको सैन्यशक्तिले उनलाई सहायता गर्न सक्दैनथ्यो किनकी मानसिक शान्ति भौतिक समृद्धिले प्राप्ति हुँदैन । त्यसबेला कृष्णको गीता उपदेश निश्चय नै परम–उपकारक बनेको थियो । कृष्ण अरुका लागि एक गोठाला नै थिए तर अर्जुनले कृष्णको ज्ञान एवं सद्गुणहरू चिनेका कारण उनलाई नै युद्धका लागि रोजेका थिए र त्यही रोजाइको फल हो आज संसारले नै गीताको अमृततत्व रसास्वासदन गरिरहेको छ ।

 मैले सुनेको छु – ठुला ठुला न्यायालयमा पनि गीतामा हात राखेर सत्य–असत्य बोल्ने वचन दिइन्छ अरे । ठुला ठुला उद्योगपतिहरू , महात्मा गान्धी समान राजनेताहरू , अत्यन्त विशाल व्यक्तित्वका धनी समाजसेवीहरू एवं सफलता चुमेका सिद्धहस्तहरू गीता पढ्नुको फाइदा बताइरहेका देखिन्छन् । गीता स्वयं श्रीकृष्णका उपदेशहरूको संग्रह हो वा भनौँ गीता श्रीकृष्ण नै हो । यसरी दुर्योधनको अपेक्षा कृष्णको रूपमा गीता चयन गर्ने अर्जुनको बुद्धिमत्ता नै प्रशंसनीय छ । यो यौटा संगतको पनि उदाहरण हो कि कृष्णको संगतमा पाण्डवहरू धर्मात्मा थिए भने दुष्ट कौरवहरूको संगतिमा रहँदा भीष्म , द्रोण आदिजस्ता महान् तपस्वीहरू पनि कौरवहरूको अधर्ममा सहायक हुन पुगे । तसर्थ हामी सदैव विवेकशील भएर असल खराबको निर्णय गर्नुपर्छ एवं राम्रो संगतमा लाग्नु पर्छ ।